झापा । भद्रपुरको हिमाली युनाइटेड क्लबलाई पराजित गर्दै आयोजक होक्से युवा क्लब झापाको बुद्धशान्ति १ मा जारी तेस्रो होक्से च्यालेञ्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 

स्थानीय त्रिभुवन माविको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा २-१ गोलअन्तरे भद्रपुरलाई पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको हो ।

 

आयोजकका लागि दुवै गोल श्याम मुर्मूले गरेका हुन् । १-० गोलले पछि परेको नतिजालाई उल्टाउँदै आयोजकले बाजी मारेको हो । खेलको २ मिनेटमै प्रदिप बुढाथोकीले गोल गरेर भद्रपुरले अग्रता बनाएको थियो ।

 

तर, अग्रता जोगाउन नसक्दा भद्रपुर सेमिफाइनलबाटै बाहिरियो । दुई गोल गरेका श्याम मुर्मू प्लेयर अफ दी म्याच बने । उनले नगद एक हजार पाँच सय प्राप्त गरे ।

 

होक्से युवा क्लबले आयोजना गरेको प्रतियोगितामा बिहीबार अर्जुनधाराको शनिश्चरे फुटबल क्लबले बिर्तामोडको पूर्वेली युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । असोज ११ गते हुने फाइनल खेलको विजेताले नगद एक लाखसहित आकर्षक ट्रफी पाउने छ ।