
शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ९ स्थित नेपालकै एक मात्र कछुवा संरक्षण तथा प्रजनन केन्द्र (सालबारी झिल)बाट दुर्लभ कछुवा चोरी भएको छ ।
सुखानी शहीद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरिएको थियो । गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा प्रतिष्ठानको विभिन्न संरचनामा आगजनी र तोडफोड हुँदा चार वटा कछुवा चोरी भएको हो ।
‘केन्द्रमा रहेका सबै कछुवाको नियमित गणना हुन्छ’, प्रतिष्ठानका व्यवस्थापक रुद्रमणि सुवेदीले भने, ‘यसपटक गणना गर्दा चारवटा कछुवा चोरी भएको पाइयो ।’ प्रतिष्ठानभित्रको कछुवा संरक्षण तथा प्रजनन केन्द्र पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै आएको छ ।
आन्दोलनकारीले प्रतिष्ठानको मुख्य कार्यालयसहित त्यहाँको पर्यटकीय पूर्वाधारहरुमा आगजनी र तोडफोड गरेका थिए । आगजनी र तोडफोडबाट ७० लाख बराबरको क्षति भएको प्रतिष्ठानका व्यवस्थापक सुवेदीले बताएका छन् ।
प्रतिष्ठानभित्रको कछुवा संरक्षण तथा प्रजनन केन्द्रसँगै रहेकाे पाेखरी (झिल) वरिपरी पर्यटकहरु नौका विहार, शहीद प्रतिमाको अवलोकन, झोलुंगे पुल र म्यूजिकल वाटर फाउन्टेन पार्क हेर्न र वनभोजका लागि आउने गर्छन् ।