
झापा (एजेन्सी) । नेपालकी अल्ट्रा धाविका सुनमाया बुढाले तेस्रो संस्करणको विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी छन् ।
स्पेनको क्यानफ्रान्कमा सम्पन्न प्रतियोगितामा सुनमायाले ८२ किलोमिटर लामो दूरीको ट्रेल रनमा दोस्रो स्थान हात पारेकी हुन् । उनले निर्धारित दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरेकी थिइन् । यस इभेन्टमा सुनमायालाई उछिन्दै अमेरिकी धाविका केटी स्चिडेले ९ घन्टा ५७ मिनेट दुरी पूरा गरिन् । इटालीकी फावियो कोन्टी १० घन्टा ३५ मिनेटबाट कांस्य जित्न सफल भइन् ।
विश्व माउन्टेन रनिङ एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक विश्व एथलेटिक्स र इन्टरनेसनल एसोसिएसन अफ अल्ट्रा रनर्सले सहकार्य गरेका थिए । प्रतियोगितामा ८० देशका १ हजार ७ सय खेलाडी सहभागी थिए । यो अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता रहेको थियो ।
नेपाल एडभेन्चर रनिङ महासंघले नेपालबाट सुनमायासहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई प्रतियोगितामा सहभागी गराएको थियो ।
८२ किलोमिटर लङ ट्रेलमा सुमन ३२औं स्थान र मनकुमार ३६औं स्थानमा दूरी पार गरेका छन् । क्यानफ्राङ्क–पिरिनोसस्थित ५,४१३ मिटर उचाइमा भएको कठिन दौडमा सुनमायाको उपलब्धिले विश्वमा नेपालको अल्ट्रा दौडको उच्च सम्भावना औंल्याएको छ ।