झापा । युवाहरुको साझा आव्हान्, लागुऔषधरहित समाज भन्ने मुख्य नारासहित झापाको अर्जुनधारामा मंगलबारदेखि मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
अर्जुनधारा ९ खरबन्दीस्थित गोलधाप युवा क्लबको आयोजनामा स्थानीय नमूना खेलमैदानमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा अर्जुनधारा नगरपालिकाका ११ वटा वडाको सहभागिता रहेको क्लबका अध्यक्ष सुरेन राईले जानकारी दिए । कात्तिक २१ गते फाइनल रहेको प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कार ५१ हजार र ३१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
क्लबका अध्यक्ष राईको अध्यक्षतामा आयोजित प्रतियोगिता उद्घाटन कार्यक्रममा स्वागत सचिव भूपाल राज कार्कीले र कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दीपक ढुंगानाले गरेका थिए ।
उद्घाटन खेलमा अर्जुनधारा ५ नम्बर वडालाई ३-२ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा २ नम्बर वडा विजयी भएको छ । उसका लागि हर्कबहादुर सिवा र मनोजकुमार सुब्बाले गोल गरेका हुन् ।
अर्जुनधारा ५ का कृष्णभक्त तामाङ र दुर्गामान सिंह कार्कीले गोल गरे । खेलमा २ गोल गर्ने विजेता टिमका मनोजकुमार सुब्बा उत्कृष्ट खेलाडी भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर धिमाल, अध्यक्ष राईलगायतले नगद पुरस्कार १५ सयबाट पुरस्कृत गरे ।बुधबारको खेल अर्जुनधारा ४ र ७ बीच हुने आयोजक क्लबका सदस्य मौसम मगर ‘लाफा’ले जानकारी दिए ।