झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोड (अनारमनी)बाट लुटिएको ५४ थान गोलीसहित दुईजना पक्राउ परेका छन् ।

 

बुधबार दिउँसो १२ बजे बिर्तामोड २ स्थित रामचोकमा लालबहादुर गिरीको घरमा डेरा गरी बस्ने २७ वर्षीया इस्रप खातुनको कोठाबाट प्रहरीले गोली बरामद गरेको हो ।

 

लागूऔषध ब्युरो ईकाई काँकरभिट्टाबाट र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा लुटिएको हातहतियारका गोली बाह्रदशी गाउँपालिका ४ चकचकी घर भई २ रामचोकमा बस्ने खातुनको कोठाबाट बरामद गरेको हो ।

 

उनको कोठामा एसएलआरको ३८ राउण्ड, इन्सासको १६ राउण्ड, काँसको थाल १ थान, करुवा १ थान, पित्तलको गिलास १ थान र प्रहरीको बुट १ जोर बरामद भएको छ ।

 

यसैगरी, खातुनसँगै लुटपाटमा संलग्न रामचोक बस्ने २२ वर्षीय विकास टुडुलाई समेत बरामद सामानसहित इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

 

यसअघि गत कात्तिक १९ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको एक थान हतियार र त्यसको गोली भेटिएको थियो । इप्रका दमक र बिर्तामोडबाट लुटिएका अझै २२ थान हतियार भेटिन बाँकी रहेको डीएसपी खड्काले बताए ।