देवराज गुरुङ,
ताप्लेजुङ । विश्वमै लोकप्रिय छ, फुटबल । बारीका कान्लादेखि रङ्गशालासम्म हुन्छ, फुटबल । खेल्नेलाई भन्दा हेर्नेलाई मज्जा हुन्छ । सायद त्यही भएर होला,दर्शकलाई १२औं खेलाडी भनिएको ।
फुटबलमा कहलिएका पेले र डिएगो म्याराडोनाहुँदै क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी र वर्तमान लामिन यमलसम्म आइपुग्दा खेल र खेलाडीको चर्चाले अझ व्यापकता पाउन थालेको साँचो हो । जसरी प्रिमियर लिग, सिरी ए, ला लिगा र वुन्डेसस लिगा हेरेर फुटबलको मज्जा लिने पुस्ता हुर्कदैछ । त्यसरी नै कुना काप्चादेखि आधुनिक सहरसम्म फुटबल गतिविधि दिन प्रतिदिन लोभलाग्दो तरिकाले फस्टाउँदै छ ।
फुटबलसँग नाम र दाम दुवै छ । चौतर्फी विषयलाई फुटबलसँग लिंक गर्ने चलन बढ्दो छ । संक्षेपमा भनौ, फुटबलसँग जोडिएका हरेक गतिविधि क्षणभरमै भाइरल बन्छ । विज्ञान र प्रविधिको उच्चतम प्रयोगले मानवीय जीवन नै सभ्य बनाएको २१औं शताब्दीको युग पनि त हो ।
ताप्लेजुङमा आयोजकले फुटबलको लोकप्रियतालाई माध्यम बनाएर जोडेका छन्, कालो सुन अर्थात् अलैँची । मिक्वाखोला गाउँपालिका ४ साँवास्थित फङफङदेन झरना पर्यटन विकास समितिले यसपटक निर्णय गरेका छन्, फुटबलका विजेता र उपविजेतालाई नगद होइन, अलैँची नै पुरस्कार दिने ।
प्रथम पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ र दोश्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ छ । किनकी गाउँघरमा अलैँचीलाई कालो सुन पनि भनिन्छ । यहि अलैँचीको प्रचारप्रसार गर्न फुटबलसँग अलैँची जोड्ने निर्णय गरेको अध्यक्ष विजय साँवाले बताए ।
आयोजकले पुरस्कार बराबरमूल्यको अलैँचीलाई टिमले त्यही बेच्न सक्नेगरी व्यवस्था मिलाएको छ । कात्तिक-मंसिर महिनामा अलैँची खरिद गर्न व्यापारीहरु गाउँ-गाउँमा पुग्छन् ।
अध्यक्ष साँवाले भने, ‘ताप्लेजुङ अलैँचीको राजधानी हो । अलैँचीबाट उत्पादन भएका थुप्रै सामग्री प्रचार गर्न पुरस्कार नै अलैँची दिने निर्णय गरेका हौँ ।’ नजिकै रहेको फङफङदेन अर्थात फुङफङे झरना लोभलाग्दो छ । हो, त्यही झरनाको काखमा बनेको मैदानमा यो वर्ष मंसिर ७ गतेदेखि ११ गतेसम्म प्रतियोगिता हुँदैछ । यो झरना नेपालकै चर्चित झरना हो ।
कोषाध्यक्ष सुकबहादुर साँवाका अनुसार अतिथिलाई पनि अलैँचीको उत्पादन नै मायाको चिनो दिने तयारी छ । कोषाध्यक्ष साँवाले भने, ‘अलैँचीको चिया पनि छ । स्वास्थ्यवद्र्धक पनि हुन्छ । सायद त्यही नै दिन्छौ ।’
उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले फुटबलसँग अलैँची र फङफङदेन झरनालाई जोडेकोप्रति आयोजकको प्रंशसा गरेका छन् । मन्त्री हाङगामले भने, ‘राजनीतिज्ञ हुनुपूर्व म पनि किसान हुँ । फुटबल खेलाडी पनि थिए । यो निर्णयमा आभारी छु ।’
किसानको भविष्यसँग जोडिएको पेसा र उत्पादनलाई खेलमार्फत जोड्ने नीति स्थानीय, प्रदेश र सँघ सरकारका लागि प्रेरणादायक भएको मन्त्री हाङ्गामको भनाइछ ।
ताप्लेजुङमा ४ हजार ५ सय हेक्टर जमिनमा अलैँची खेती हुन्छ । वार्षिक २ हजार ४ सय मेट्रिकटन अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङक छ । फुटबलसहित सांस्कृतिक कार्यक्रम गर्न करिब १९ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।