बिर्तामोड । झापाको कनकाई नगरपालिका ५ स्थित तल्लो चाप्रामारीबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

 

आज अन्दाजी ११ः३० बजेको समयमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गा झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

 

झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ आउँदै गरेको बिआर ३७ आर १८६६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरूले बोकेको हाते झोलाभित्र खानाको बट्टामा लुकाईछिपाई राखिएको अवस्थामा ६ पोका ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थको तौल ५६३ ग्राम ६२० मिलिग्राम रहेको छ।

 

घटनामा संलग्न झापा गाउँपालिका ६ बस्ने साफिक उलमिया र भारत, डिगलबैंक थाना-१ बस्ने निसार आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

साथै, उनीहरूको साथबाट भिभो मोबाइल ३ थान र मोटरसाइकलसमेत बरामद गरिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।