झापा । पछिल्लो २४ घण्टामा झापाका ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झापाका ८ वटा पालिकाका स्थानीयमा संक्रमण पुष्टि भएको हो ।

झापाका सात नगरपालिका र एक गाउँपालिकामा १० महिलासहित ४१ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी भद्रपुरमा १४ जना रहेका छन् । भद्रपुरमा १३ पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, मेचीनगर नगरपालिकामा २ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सबै स्थानीय हुन् भने २ जना स्वास्थ्यकर्मी र एक जना जनप्रतिनिनिध रहेका छन् ।

बिर्तामोड नगरपालिकामा २ जना कर्मचारीसहित ६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ३ जना स्वास्थ्यकर्मी रहेका छन् । उनीहरु सबै पुरुष हुन् । दमक नगरपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ । २ महिला र २ पुरुष संक्रमित सबै स्थानीय हुन् ।

त्यस्तै, अर्जुनधारा, कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा ३३ जना संक्रमित भएका छन् । अर्जुनधारा ६ का २ महिला र १ पुरुष छन् । कनकाईका १ महिला र २ पुरुष रहेका छन् भने बुद्धशान्तिमा २ महिला र १ पुरुष छन् । कनकाईका २ जना कर्मचारी हुन् ।

त्यस्तै, गौरादह नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार २२ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै झापामा कुल संक्रमितको संख्या ११ सय ६७ पुगेको छ । जसमा ९११ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । सक्रिय संक्रमितको संख्या २४४ रहँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।