अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिका ८ स्थित शनिश्चरे बजारबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुईजना कारोबारी पक्राउ परेका छन् ।
आइतबार दिउँसो २ः२० बजे लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी बरिष्ठ नायव निरीक्षक हिमाल पोखरेलको कमाण्डमा खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित दुई कारोबारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा अर्जुनधारा ८ शनिश्चरे बजारका ३८ वर्षीय प्रमोद साह र अर्जुनधारा १ सिस्ने बस्ने २३ वर्षीय राज बिष्ट रहेका छन् । पक्राउपछि प्रमोदं शाहलाई प्रहरी चौकी शनिश्चरेमा ल्याई आवश्यक अनुसन्धान गरिएको थियो ।
अनुसन्धानका क्रममा शाहले मलद्वारमा लुकाई ल्याएको प्लास्टिकसहित १५ ग्राम २५० मिलिग्राम र प्लास्टिकबाहेक १० ग्राम २०० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुले प्रयोग गरको को ५ प ४४१३ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कार्बाहीको लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाएको जनाइएको छ ।