अर्जुनधारा । यसवर्ष अर्जुनधाराका ६२ हजार नगरबासीलाई हात्तीपाइले रोगको औषधि खुवाइने भएको छ ।
हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले नगर स्वास्थ्य शाखाले यस्तो लक्ष्य राखेको हो । सोमबार नगरस्तरीय योजना तर्जुमा गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम गर्दै स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइन लागेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले हात्तीपाइले रोग निवारण कार्यक्रमबारे सहजीकरण गरेको कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाअन्तर्गत विभिन्न शाखाका प्रमुख एवम् प्रतिनिधि र सञ्चारकर्मीहरुलगायतको सहभागिता रहेको थियो ।
यही चैत २० गतेदेखि सुरु हुने औषधि सेवन कार्यक्रमको लागि यसपटक ११ वटा वडाको ५५ वटा टोलसम्म अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने शाखाको तालिका रहेको छ । गतवर्ष ७२ प्रतिशत नगरबासीहरुले औषधि सेवन गरेकोमा यसवर्ष ९० प्रतिशत नगरबासीहरुलाई औषधि सेवन गराउने लक्ष्य शाखाले लिएको कार्यक्रममा बताइएको छ ।
हात्तीपाइले रोगविरुद्धको औषधि दुई वर्ष नपुगेका बालबालिकाहरु, गर्भवती, सात दिनसम्मका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामीबाहेक सबैले सेवन गर्न मिल्ने हुँदा उक्त कार्यक्रम सफल बनाउन स्वास्थ्यकर्मीहरु मात्र नभइ सरोकारवालाहरु सबैलाई जुट्न शाखा प्रमुख केशव रिजालले अनुरोध गरेका छन् ।
सन् २०१२ देखि नियमितरुपमा आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको झापामा हाल रोगीको दर १ दशमलव ४७ प्रतिशत रहेको फोकल पर्सन चौलागाईंले जानकारी दिए । घरदैलो अभियानमार्फत् विगतमा औषधि सेवन गराउने भन्दा पनि वितरण मात्र गरेको हुँदा केही कमजोरी भएको स्वीकार गर्दै उनले यसवर्ष वितरणभन्दा पनि परिचालन भएको स्वास्थ्यकर्मीहरुले औषधि सेवनमा जोड दिने बताए ।
गतवर्ष जिल्लामा ६८ दशमलव ५१ प्रतिशतले औषधि सेवन गरेकोमा यसवर्ष आठ लाख २ हजार ६ सय जनालाई औषधि सेवन गराउने लक्ष्य जिल्ला स्वास्थ्य कार्यालयको रहेको छ । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सहसंयोजक मुकुन्द बस्नेतले गरेका थिए ।