शनिश्चरे । टाइब्रेकरमा बाजी मार्दै अर्जुनधारा १ नम्बर वडाको टोली यहाँ आयोजित वडास्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

 

नमुना खेलमैदानमा आज भएको फाइनल खेलमा १ नम्बर वडाले ५-३ गोलअन्तरको नतिजाबाट उपाधिको दाबेदार मानिएको ८ नम्बर वडाको चुनौती समाप्त पारेको हो । निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए ।

 

८ नम्बर वडासँग पहिलो हाफसम्म २-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै वडा नम्बर १ ले बराबरी कमब्याक गरेको हो । खेलको २०औँ मिनेटमा निखिल तामाङले गोल गर्दै वडा नम्बर ८ लाई अग्रता दिलाएका थिए । यस्तै, राजिव ढुंगानाले ३४औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए ।

 

तर, वडा नम्बर १ का मिराज मल्लले खेलको ५२औँ मिनेटमा गोल गरेर खेलमा फर्कने प्रयास गरेका हुन् । यसैबीच, युगल राईले ६६औँ मिनेटमा गोल गर्दै बराबरीमा पुर्याए ।

 

टाइब्रेकरमा वडा नम्बर १ का विशाल गोले, तेजन बुर्जामगर, मनोज राई, मिराज मल्ल र युगल राईको प्रहार गोलमा परिणत भएको थियो । ८ नम्बर वडाका लागि अर्पित मगर, निशेष भण्डारी र राजिव ढुंगानाको प्रहार गोलमा परिणत हुँदा निखिल तामाङको प्रहार विपक्षी गोलरक्षक बुद्ध नेम्बाङले रोकेका थिए ।

 

खेलको प्लेयर अफ दी म्याच १ नम्बर वडाका सुवास राई भए । उनले नगद १ हजार ५ सय पाए । राईजिङ प्लेयर १ नम्बरका मिराज मल्ल, बेस्ट स्ट्राइकर १ नम्बरका युगल राई, बेस्ट गोलकिपर १ नम्बरकै बुद्ध नेम्बाङ, बेस्ट कोच १ नम्बरकै अभिषेक मगर घोषित भए ।

 

सर्वाधिक गोलकर्ता ८ नम्बरका निखिल तामाङ भए भने बेस्ट डिफेन्स ८ नम्बरका क्षितिज अधिकारी र बेस्ट मिडफिल्डर ८ नम्बरकै निश्चल भण्डारी भए । उनीहरुले जनही २ हजार ५ सयसहित ट्रफी पाए ।

 

प्रतियोगिताककै सर्वोत्कृष्ट खेलाडी वडा नम्बर १ का मनोज राई भए । उनले नगद हजारसहित ट्रफी पाए । जेठ ७ गतेदेखि भएको प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी पाउँदा उपविजेताले नगद ३० हजारमा चित्त बुझाएको छ ।

 

विजेता तथा उपविजेता टिम र खेलाडीलाई अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, वडा नम्बर १ का अध्यक्ष उपेन्द्र बस्ने, ८ का अध्यक्ष कुमारप्रसाद उप्रेती, वडा नम्बर ६ का अध्यक्ष हरिश्चन्द्र बाँस्तोला, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, सचिव खगेन्द्र लिङदेनलगायत जनप्रतिनिधिहरुले पुरस्कार वितरण गरेका थिए ।