बिर्तामोड । दोस्रो चरणमा कोरोना संक्रमण फैलिदै गएपछि त्यसबाट जोगिनका लागि बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र लाग्ने सम्पूर्ण साप्ताहिक हाटबजार बन्द गरेको छ ।

बढी भीडभाडमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरिएको हो । मंगलबार बसेको नगरस्तरीय कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।

बिर्तामोड क्षेत्रभित्र बुधबारे हटिया, बिर्ताबजार, गरामनी, सैंनिकबजार, चारपाने, चैतुबारीलगायतका स्थानमा हाटबजार लाग्ने गरेको छ । ती सबै हाटबजार लाग्न नदिने निर्णय गरिएको खड्काले बताए । त्यसैगरी नगरभित्र २५ जनाभन्दा बढी मानिसको भीड हुन नदिने बैठकले निर्णय गरेको छ ।

२५ जनाभन्दा बढी भीडभाड हुने खालका कार्यक्रम, बैठक, सेमिनार, गोष्ठीजस्ता कार्यक्रम गर्न नदिने निर्णयसमेत भएको फोकल पर्सन खड्काले जानकारी दिए । बैठकमा स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापाबाट प्राप्त परिपत्र अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु पालना गर्ने र गर्न लगाउने समेत निर्णय भएको छ ।

मास्क अनिवार्य लगाउने, सेनिटाइजार प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्नेजस्ता मापदण्डहरुलाई पालना गरिनुपर्नेमा जोड दिइएको छ । नगरस्तरीय कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिका संयोजक रहेका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको कार्यक्रममा उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाललगायतकाे उपरस्थिति थियाे ।

त्यस्तै, बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङ, नेकपा एमालेका ज्ञानुराम प्रसाई , सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक गौतम योन्जन, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक विजय कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगु, बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराईलगायतले एक वर्ष अगाडिको कोरोना कहरको अनुभव सुनाउँदै सावधानीका हरसंभव उपाय अवलम्बन गरिनु पर्नेमा जोड दिएका थिए ।

बिर्तामोडमा हालसम्म ७०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भएको छ । नगरपालिकाका ४ हजार ९४५ जनाको पिसिआर परीक्षण गरिएको छ भने १ हजार ७७४ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियानमा ६५ वर्षमाथिका ३ हजार ३९५ जनालाई कोरोनाको खोप लगाइएको फोकल पर्सन खड्काले जानकारी दिए ।

उनका अनुसार त्यसअघि पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, कर्मचारी, पत्रकारलगायतलाई कोरोनाको खोप दिइएको थियो । कार्यक्रममा सावधानी सँगसँगै एन्टीजिन टेष्टको दायरा बढाउने निर्णय भएको जनाइएको छ ।