झापा । झापामा हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत आम औषधि वितरण कार्यक्रम आजदेखि शुरु हुँदैछ ।
चैत २० गतेदेखि चैत मसान्तसम्म झापाका १५ वटै स्थानीय तहमा यो अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत जिल्लाका ८ लाखभन्दा बढीलाई औषधि खुवाउने लक्ष्य राखिएको छ ।
जिल्लाका कूल ९ लाख ३३ हजार जनसँख्यामध्ये ८ लाख ४ हजार ५७ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको हो । औषधि खुवाउनका लागि ६ सय जना स्वास्थ्यकर्मी र ६ सय जना महिला स्वयंसेविका परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा आर्थिक वर्ष २०७६–०७७ मा ५५४ जना हात्तीपाइलेका रोगी भेटिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । तीमध्ये हाइड्रोसिल भएका ३७२ जना, हात र स्तन सुन्निएका ११० जना र खुट्टा सुन्निएका ७२ जना भेटिएको कार्यक्रम संयोजक चम्लागाईले बताए ।
क्यान्सरभन्दा घातक रोग हात्तीपाइले भएकाले सबैले औषधि खानु पर्नेमा उनले जोड दिए । हात्तीपाइलेले अशक्त, असमर्थ तथा अपाङ्गता बनाउने र रोग लागेको ब्यक्तिलाई सामाजिक तिरस्कार हुने भएकाले पनि औषधि सेवन गर्नु पर्ने उनको जोड छ ।