झापा । काठमाडौँको चर्च ब्वाइज युनाइटेड दोस्रो हल्दिबारी गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

शनिबारदेखि स्थानीय मोती आधारभूत विद्यालयको मैदानमा सम्पन्न उद्घाटन खेलमा सैनिक युथ क्लब झापालाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

चर्च ब्वाइजका कप्तान निरज बस्नेतले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए । सैनिकका लागि अभिषेक गुरुङले गोल गरेर खेलमा फर्काए पनि जीत सम्भव भएन । चर्च ब्वाइजका निशान लिम्बू र मिलन राई थप गोल गरेर फराकिलो अन्तरमा सहज जीत निकाले ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले मुख्य रेफ्री श्याम दनुवारलाई बल हस्तान्तरण गरेको प्रतियोगिताको म्यान अफ दी म्याच चर्च ब्वाइजका बस्नेत घोषित भए । उनले नगद ३ हजार पाए ।

जलथल एफसीका अध्यक्ष जय राईको अध्यक्षतामा भएको कार्यक्रममा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङलगायतले गोल्डकप सफलताको शुभकामना दिएका थिए ।

आठ टिम सहभागी गोल्डकपको विजेताले नगद १ लाख २१ हजार १११ र उपविजेताले ६१ हजार १११ रुपैयाँ पाउनेछ । आइतबारको खेल आयोजक जलथल एफसीविरुद्ध इलामको रेड हर्स एफसीबीच हुनेछ ।