काठमाण्डौ । खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
सीआईबीको टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई शनिबार राति पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता अनुपमशमशेर जबराले राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदन र जाहेरीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताए । यसअघि सीआईबीले एन्फा कार्यालय सातदोबाटो ललितपुरमा छापा मार्दै केही कागजात नियन्त्रणमा लिएको थियो ।
अहिले एन्फा निलम्बनमा रहेको छ । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले नेपाललाई निलम्बनमा राखेको हो ।