काँकरभिट्टा । क्यामरुनी खेलाडीले भरिएको दाउफिन्स एफसी र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच आज बिहीबार मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आमने सामने हुने भएका छन् ।

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा मेचीनगर ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा आयोजना हुने मेची नेत्रालय मेचीनगर गोल्डकप चौथो संस्करणको उद्घाटन खेलमा यी दुई टिमको यो सिजनमा तेस्रो भेट हो ।

गतवर्ष मदन भण्डारी इटहरी गोल्डकपको फाइनलमा दाउफिन्स एफसीलाई टाइब्रेकरमा मेची नेत्रालयले पराजित गरेको थियो । त्यसपछि दुहबी गोल्डकपको सेमिफाइनलमा मेची नेत्रालयलाई हराउँदै दाउफिन्सले गोल्डकपको उपाधिसमेत आफ्नो पोल्टामा पारेको थियो ।

यसै वर्ष मात्र करिब आधा दर्जनजति विभिन्न गोल्डकपको उपाधि चुमेको दाउफिन्सलाई आयोजक मेची नेत्रालयसँगको यो भेट निकै चुनौती बन्नेछ । आयोजकका तर्फबाट विशाल राई ए ले टिमको कप्तानी गर्नेछन् ।

गोल्डकप विजेताले नगद १० लाख १ हजार पाउनेछ भने उपविजेताले नगद ५ लाख १ हजार पाउनेछ । गोल्डकपको उत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले ११ हजार नगद पाउनेछ ।

त्यस्तै, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्ड, बेस्ट डिफेन्डर्स, बेस्ट कोच, बेस्ट गोलकिपर र राइजिङ प्लेयरले जनही २१ हजार पाउने छन् ।
२१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय, दुई विदेशीसहित १० टिमको सहभागिता रहेको छ ।