सिन्धुपाल्चोक । जावलाखेल युथ क्लब नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
सिन्धुपाल्चोक लामो साँघुस्थित बसन्तपुर मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा जावलाखेलले आयोजक युथ स्पोर्टस् क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्याे । अब उपाधिका लािग जावलाखेल युथ क्लबले गोर्खा ब्वाइज क्लब रुपन्देहीसँग शनिबार खेल्नेछ ।
बिहीबार भएको खेलमा निर्धारित समयमा २–२ को बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा गरिएको हो । पेनाल्टी सुटआउटमा आयोजकका विएम कुथु र सन्जिब लामा गोल गर्न चुके ।
जावलाखेलका विशाल तामाङ, सुजित बुढाथोकी, अरुज सिंह र डानिल बेजेले गोल गरे । आयोजकका लागि कृजल खड्का र सुकृत मगरले मात्रै गोल गरे । जावलाखेल युथ क्लबका गोलरक्षक अरुण तामाङले आयोजकका सन्जिब लामाको प्रहार रोकेका थिए । यस्तै विएम कुथुले भने बाहिर प्रहार गरे ।
खेलको २५ मिनेटमा विदेशी खेलाडी फोडे फोफानाले जावलाखेलका लागि सुरुवाती गोल गरे । उनले सुजित बुढाथोकीको पास सदुपयोग गरेका थिए ।
आयोजकले दोस्रो हाफमा लगातार दुई गोल गर्याे । दोस्रो हाफको १० मिनेटमा आयोजकका कप्तान विएम कुथुले पेनाल्टीमा गोल गरे । जावलाखेलका खेलाडीले सुरेस खत्रीलाई फाउल गरेपछि आयोजकले पेनाल्टी पाएको थियो । उनै सुरेस खत्रीले खेलको ६०औं मिनेटमा गोल गरे । सुरेसले जावलाखेलको कप्तान अजय थापा र गोलरक्षक अरुणलाई बिट गर्दै चिप गोल गरेका थिए ।
खेलको ८२औं मिनेटमा गोल गर्दै जावलाखेलको गौतम श्रेष्ठले टिमलाई बराबरीमा ल्याएका थिए । उनले सुजित बुढाथोकीको पासमा हेडिङ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच आयोजकका सुरेस खत्री भए । उनले नगद ५ हजार प्राप्त गरे ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार प्राप्त गर्नेछ ।