बिर्तामोड । नेपाली राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारका लागि आर्थिक सहयोग जुटाउन मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

 

आगामी २ अगस्ट २०२६ का दिन पेनाङमा एन पेनाङ एफसी -मलेसिया) र नेपबोर्न एफसी -अस्ट्रेलिया) बीच यो विशेष खेल हुन लागेको एन पेनाङ एफसीका अध्यक्ष अंकित थापाले जानकारी दिए ।

 

थापाका अनुसार खेलकुदमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानअन्तर्गत यो च्यारिटी म्याचको आयोजना गरिएको हो । खेलबाट संकलन हुने सम्पूर्ण सहयोग रकम हाल उपचाररत घाइते खेलाडी राईलाई हस्तान्तरण गरिने जानकारी थापाले बताए ।

 

‘यो केवल दुई क्लबबीचको खेल मात्र नभई अप्ठ्यारो स्थितिमा रहेका हाम्रा राष्ट्रिय खेलाडीलाई बचाउने र सहयोग गर्ने एउटा अभियान हो’, अध्यक्ष थापाले भने ।

 

आयोजक क्लबले मलेसियामा रहेका सम्पूर्ण नेपाली समुदाय, खेलप्रेमी, शुभचिन्तक तथा सहयोगी मनहरूलाई खेल मैदानमा उपस्थित भई आशिष राईको उपचार अभियानमा साथ दिन हार्दिक अपिल गरेको छ ।

 

खेलकुदमार्फत सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको एन पेनाङ एफसीले आगामी दिनहरूमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

यु-२३ राष्ट्रिय टोलीका सदस्य राईको सन् २०२५ फेब्रुअरी १५ मा चिनिया टोली (युनान) विरुद्धको मैत्रीपूर्ण खेलका क्रममा देब्रे खुट्टामा गम्भीर चोट लागेको थियो । उनको नेपाल, चीन हुँदै थाइल्यान्डमा उपचार भए पनि खुट्टामा रहेको मेटल प्लेट निकाल्न अझै एक वर्ष लाग्ने बताइएको छ ।