भद्रपुर । राष्ट्रिय जनमुक्ति पार्टी भद्रपुर नगरपालिकाको लागि नगर प्रमुखका प्रत्यासी उम्मेद्वार यामबहादुर लिम्बू ‘सन्तोष’ आइतबार घोषणापत्र सार्वजनिक गर्दै चुनाव प्रचारप्रसारमा होमिएका छन् ।
घोषणापत्रमा विशेषगरी कुशल व्यवस्थापन तथा सुशासन, भ्रष्टाचाररहित समृद्ध भद्रपुर नगर, उत्पादनमुखी तथा आत्म सम्मानसहितको रोजगार सिर्जना गर्ने, सरकारी सेवा समानताको आधारमा समयमा हस्तान्तरण, खोज तथा अनुसन्धान जस्ता ५ वटा बुँदालाई सार्वजनिक गर्दै लिम्बू अगाडि बढेका छन् ।
उनले स्वास्थ्य सम्बन्धि सरकारी अस्पतालमा धनी, गरिब, नेता र आम सर्वसाधारण जनताबीच विना भेदभाव सेवा प्रदान गर्नका लागि कानुन बनाउने, सरकारी अस्पतालमा कार्यरत डाक्टरलाई निजी अस्पतालमा जानबाट रोक्ने, निःशुल्क बिमा, महिलाहरुका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था गर्ने, शिक्षामा सरकारी शिक्षाको गुणस्तरलाई उच्च बनाइ विद्यार्थीको मौलिकको हकको रुपमा स्थापित गराउने घोषणापत्रमा उल्लेख गरेका छन् ।
यस्तै, विद्यार्थीको आर्थिक अवस्था हेरी अनुदान दिने, शिक्षकलाई राजनीतिबाट टाढा राख्ने, विकास निर्माणका लागि भौतिक पूर्वाधार निर्माणमा स्थानीय युवाहरु परिचालन गर्ने, बेरोजगार युवाहरुलाई हरेक विकासमा स्थानीय युवाहरुको उपभोक्ता समिति बनाइ वैदेशिक रोजगारमा आश्रित परिवारको संख्या कम गर्ने घोषणापत्रमा उल्लेख छ ।