खुदुनाबारी । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले समुदाय स्तरमा देखिएको समस्या समाधान आफ्नो पहिलो प्रथमिकता हुने बताएका छन् ।
चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा ३ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै गोम्देनले समुदाय स्तरमा देखिएको समस्याहरुको समाधान आफ्नो पहिलो प्राथमिकता हुने बताएका हुन् ।
गोमदेनले ३ नम्बर वडामा देखिएको हात्ती आतंक, बाटो स्तरोन्नती, नदी नियन्त्रण, कृषिमा आधुनिकीकरण, शिक्षा, स्वास्थ्य लगायतका विषयलाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्ने बताए ।
३ नम्बर वडाको बुढी सुखानी, जुकेखाडी, अमलडाँगी र शान्ति चोकमा भएको कोणसभामा स्थानीय जनताले राखेको विभिन्न समस्या र गुनासोको सम्बोधन गर्दै मेयर पदका प्रत्यासी गोम्देनले समुदाय स्तरमा हालै देखिएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता हुने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा ३ नम्बर वडाका वडा अध्यक्ष पदका उम्मेदवार हरि वाग्ले, उपमेयर पदकी उम्मेदवार खडगमाया पराजुली र एमाले झापा जिल्ला उपाध्यक्ष तथा संबिधानसभा सदस्य प्रेम गिरी लगायतका नेताहरुले नेकपा एमालेलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गरेका थिए ।