अर्जुनधारा । चर्चित हास्य कलाकार विल्सनबिक्रम राई (तक्मे बुढा)ले अर्जुनधारा नगरपालिकाको विकासका लागि बलदेव गोम्देन उत्तम नेता भएको बताएका छन् । उनले नेकपा एमालेका तर्फबाट मेयरका प्रत्यासी गोम्देनको पक्षमा भोट गर्न पनि आग्रह गरे । झापाको अर्जुनधारा ७ स्थित मिलडाँडा चोकमा आज आयोजित चुनावी कोणसभामा उनले मेयर पदका प्रत्यासी बलदेव गोम्देन तामाङलाई विजयी गराउन मञ्चबाटै आह्वान गरे ।

 

अर्जुनधाराको विकासका लागि उत्तम नेता बलदेवे गोम्देन तामाङ भएको बताउँदै उनले गोम्देनलाई भोट दिएर मेयर पदमा विजयी गराउन आग्रह गरे । यसअघि उनले अर्जुनधारा १ मा आयोजित कोणसभामा पनि सम्बोधन गर्दै एमालेका उम्मेद्वारलाई जिताउन आह्वान गरेका थिए ।

 

तक्मे बुढाले नेता हुनका लागि रिजन र भिजन हुनुपर्ने बताउँदै बलदेवमा ति दुबै गुण भएकाले समृद्ध नगर निर्माणको लागि उनलाई जिताउनु पर्ने दाबी गरे । भौतिक र प्राबिधिक विकासमात्रै विकास नभएको भन्दै तक्मे बुढाले नगरबासीको व्यक्तित्व विकासले सबैभन्दा ठुलो महत्व राख्ने बताए । त्यसका लागि जनताले सही नेतृत्व छान्नुपर्ने उनको तर्क थियो ।

 

५ वर्ष अर्जुनधारा १० नम्बर वडाको वडा अध्यक्ष हुँदा बलदेवले गरेको विकास हेरेर जनताले अब नगरपालिकाको विकासका लागि बलदेवलाई जिताउनु पर्ने राईको भनाइ थियो ।

 

तक्मे बुढा उपनामले परिचित विल्सनले चुनावी सभामा बिभिन्न मनोरञ्जनात्मक प्रस्तुति समेत दिएका थिए । कार्यक्रममा कलाकार रजनी गुरुङ (मंगली)ले पनि राईसंग नृत्य प्रस्तुत गरिन् । उनीहरुको साथमा विशाल लिम्बू (फर्सी टाउको) र लक्षिणा राई पनि सहभागी थिइन् ।

 

कोणसभामा नेकपा एमालेको तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङ, उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुली (इन्दिरा)ले पनि आफ्नो चुनावी प्रतिबद्धता राख्दै मतदान गरि सबै नेकपा एमालेका उम्मेदवारहरुलाई विजय गराउन आग्रह गरेका थिए ।