काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकजबिक्रम नेम्वाङ नियुक्त भएका छन् ।
मंगलबार बसेको कार्यसमिति बैठकले संघको वरिष्ठ उपाध्यक्षमा नेम्वाङलाई मनोनित गरेको हो । वरिष्ठ उपाध्यक्षमा नेम्वाङसहित विरबहादुर खड्काले दाबी पेश गरेका थिए । तर, बहुमतको आधारमा नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरेको हो ।
एन्फाले नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरे पनि विवादरहित भने हुन सकेन । नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गर्ने भएपछि अर्का आकांक्षी विरबहादुर खड्कासहित ३ सदस्यले बैठक बहिस्कार गरेका थिए । खड्कासहित पूर्णमान श्रेष्ठ र रत्न श्रेष्ठले बैठक बहिस्कार गरेका थिए ।
यसअघि एन्फाले नयाँ नेतृत्वको निर्वाचन भएको एक बर्ष बितिसक्दा समेत वरिष्ठ उपाध्यक्ष नियुक्त गर्न सकेको थिएन ।
नेतृत्वको आकांक्षी धेरै देखिएपछि वरिष्ठ उपाध्यक्ष छनोटको एजेण्डा पछाडी पर्दै आएको थियो । विधानमा वरिष्ठ उपाध्यक्ष छनोट एन्फा कार्यसमिति बैठकले गर्ने उल्लेख छ ।
एन्फा निर्वाचनमा चार उपाध्यक्ष निर्वाचित भएका थिए । जसमा नेम्वाङले ६१ मत र खड्काले ३९ मत ल्याएका थिए । अर्का उपाध्यक्ष उपेन्द्रमान सिहले ५८ मत र कृण्ण थापाले ५२ मत ल्याएका थिए ।