झापा । नेकपा एमालेले झापा जिल्लाको ५ वटै संघीय निर्वाचन क्षेत्रको सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । झापा ५ बाट एकलरुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको एमालेले झापा १ मा पनि रविन कोइरालाको नाम सर्वसम्मत ढंगले एकल सिफारिस गरेको छ ।

 

झापा क्षेत्र नम्बर १ यसअघि माओवादीका राम कार्कीले जितेको क्षेत्र हो भने कांग्रेसका महामन्त्री विश्वप्रकास शर्मा पनि सोही क्षेत्रबाट निर्वाचनमा उठ्ने तयारी गरिरहेका छन् ।

 

यस्तै, झापाको २ नम्बर क्षेत्रमा भने एमालेले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारका महान्यायाधिवक्ता बनेका अग्नि खरेलको नाम सिफारिस गरेको छ । उनी कानुनका ज्ञाता मानिन्छन् । खरेलसँगै झापा २ बाट देवराज घिमिरे, पवित्रा निरौला खरेल र ध्रुव सिवाकोटी पनि सिफारिस भएका छन् ।

 

क्षेत्र नम्बर ३ बाट एमालेले बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईको नाम सिफारिस गरेको छ । सोही क्षेत्रबाट अन्य एमालेका नेताहरु मोहन रेग्मी, हरि घिमिरे, लोकनाथ भट्टराई र गंगादेवी धमला पनि सिफारिसमा परेका छन् । उक्त क्षेत्र कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको समेत चुनावी क्षेत्र हो ।

 

यस्तै झापा क्षेत्र नम्बर ४ बाट होमप्रसाद गौतम, लालप्रसाद सावा (एलपी सावा), हिराकुमार थापा, भोजकुमारी नेपाल र चन्द्रकुमार शेर्मा सिफारिस भएको एमाले नेता अग्नि खरेलले बताए ।

 

यससँगै झापामा राप्रपासँग एमालेले गठबन्धन गर्ने हल्ला चलिरहेको बेला एमाले नेता अग्नि खरेलले त्यस्तो नहुने बताएका छन् । उनले राष्ट्रिय रुपमा गठबन्धन नगरिने र स्थानीय आवश्यकताका आधारमा एक अर्कालाई सहयोग गर्ने हुनसक्ने बताए ।

 

‘नेकपा एमालेको गठबन्धन कसैसँग हुँदैन, तालमेलको कुरा हो, सत्ता गठबन्धन कसरी अगाडि बढ्छ, त्यसै आधारमा हुन्छ, अहिले नै यसै हुन्छ भन्न सक्ने अवस्था छैन,’ खरेलले भने, ‘पार्टीले तालमेल योसँग गर्ने ऊसँग गर्ने भन्ने निर्णय गरेको छैन ।’ रातोपाटीाबट