एजेन्सी । बिहीबारदेखि पोल्याण्डमा शुरु फिफा यु–२० विश्वकपको २२औं संस्करणतर्फ दावेदार मानिएको टोली इटालीले बिजयी शुरुवात गरेको छ ।
समूह बी तर्फको सो खेलमा इटालीले मेक्सिकोलाई २–१ ले हराउँदै बिजयी शुरुवात गरेको हो । त्यस्तै सोही समूहमा रहेको अर्को दुई टोली जापान र इक्वेडरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । स्मरणीय छ, इटालीले दक्षिण कोरियामा भएको गत संस्करणको प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको थियो ।
त्यस्तै समूह ए तर्फ अफ्रिकी देश सेनेगलले टाहिटीमाथि ३–० को उत्कृष्ट जित निकाल्दा सोही समूहमा रहेको कोलम्बियाले आयोजक पोल्याण्डलाई २–० ले निराश तुल्यायो ।
प्रतियोगिता अन्तरगत शुक्रबार समूह सी तर्फ होण्डुरसले न्युजिल्याण्डको सामना गर्नेछ भने उरुग्वेले नर्वेसँग भिड्नेछ । त्यस्तै समूह डी तर्फ कतारले नाइजेरियाको सामना गर्दा सोही समूहमा रहेका युक्रेन र अमेरिका पनि आमने सामने हुँदैछन् ।