झापा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा बिर्तामोडका नवराज विमलीको घर कब्जामा लिएको दाबी गरेको छ।

 

महिनौंदेखि लघुवित्त, बैंक तथा वित्तीय संस्था र मिटरब्याजीविरुद्ध संघर्ष र चेतावनी दिँदै आएको उक्त पार्टीले आज बिर्तामोडमा प्रदर्शनसहित विमलीको घर कब्जामा लिएको जनाएको हो।

 

नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीको नेतृत्वमा गएका नेता–कार्यकर्ताहरुले विमलीको घरमा कालो ब्यानर राख्दै कब्जामा लिएको घोषणा गरेका छन् । विमलीको घरमा पुगेका उनीहरुले विभिन्न नाराबाजी समेत गरेका छन्,।

 

नवराज विमलीले सयौं जनतालाई घरबारविहीन बनाएको, शोषण गर्दै आत्महत्या गर्न बाध्य पारेको, शक्तिको चरम दुरुपयोग गर्दै गुन्डा प्रयोग गरेर पीडितलाई धम्क्याएको आरोप नेकपाले लगाएको छ। उनले लुटेको आरोप लागेका सबै सम्पत्ति फिर्ता नगरेसम्मका लागि उनको घर कब्जा गरिएको नेकपाले जनाएको छ ।

 

विमलीको घरमा ब्यानर राखेर घर कब्जा गरिएको घोषणा गर्दै उक्त पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सी ले झापाका सबै मिटरब्याजीहरुलाई नेकपाले पटकपटक सच्चिन र पीडितहरुबाट ठगी गरेको रकम फिर्ता गर्न आग्रह गर्दै आफूहरुले समय दिएको तर मिटरब्याजीहरुले नटेरेका कारण पार्टीले उनीहरुको सम्पत्ति कब्जा गर्नुपरेको बताएका छन्।

 

विमलीलाई पटकपटक जनता नठग्न, मिटरब्याजको कारोबार बन्द गर्न सम्झाए पनि दादागिरी शैलीमा जनतालाई शोषण गर्न नछाडेकाले निज विमलीको घर कब्जा गरिएको उक्त पार्टीका झापा जिल्ला सचिव सञ्जय सी ले बताए । उनले झापाका सबै मिटरब्याजीहरुको लिस्ट पार्टीसँग रहेकाले कोही कसैलाई नछाड्ने चेतावनी दिएका छन् ।