झापा । स्थानीय तहका कर्मचारीहरूले शुक्रबारदेखि आन्दोलनलाई अझैँ सशक्त बनाएका छन् । यस क्रममा अर्जुनधारा नगरपालिकामा कार्यरत कर्मचारीले पनि आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पेन डाउन गरे ।

 

आन्दोलनको कार्यक्रमअनुसार कर्मचारीहरूले ७५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चितकालिन पेन डाउन गरेका हुन् । अर्जुनधाराका कर्मचारीहरूले पेन डाउन गरेपछि नगरपालिकासहित ११ वटै वडाको कामकाज प्रभावित बनेको छ ।

 

नगरपालिकाका कर्मचारी, सम्पूर्ण वडाका सचिवहरु नगरपालिकाको मुख्य द्वारमा कालो व्यानरमा आफ्ना माग राखेर हातमा कालो पट्टी बाँधेर विरोध कार्यक्रममा उत्रिएका छन् ।

 

वडाका सबै जना सचिव नगरपालिका केन्द्रित भएर पेन डाउन गर्दा सेवाग्राहीलाई समस्या परेको छ । तर, अत्यावश्यकका काममा कुनै पनि अवरोध नगरिएको उनीहरुको भनाइ छ ।

 

गत आइतबारदेखि राजधानीको माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरिरहेका स्थानीय तहका कर्मचारीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी सरकारलाई दिएका छन् ।

 

संसद्मा पेस हुने तयारीमा रहेको सङ्घीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै स्थानीय तहका कर्मचारीहरूले सङ्घर्ष समिति बनाएरै आन्दोलन गर्दै आएका छन् । आन्दोलित कर्मचारीहरूले स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृत्ति विकास, अन्तरप्रदेश सरुवा, विना सहमति चक्रीय सरुवा प्रणाली, समायोजनका कर्मचारीको उचित व्यवस्थापन, उमेर हद र सेवा अवधि गणना, अस्थायी र करार कर्मचारीको व्यवस्थापन र सेवा सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् ।

 

यसैबीच, स्थानीय तहका कर्मचारीको आन्दोलनलाई यथाशीघ्र सम्बोधन गरिदिन अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले पत्रमार्फत् आग्रह गरेकी छन् । संघर्षरत पक्षसँग यथाशीघ्र वार्ता गी सेवा प्रवाहलाई सुचारु गर्ने वातावरण बनाउनका लागि उपप्रमुख पराजुलीले आग्रह गरेकी छन् ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै नगरपालिकाका कर्मचारी सडक संघर्षका लागि काठमाडौँ गएको र भएका कर्मचारी पनि पेन डाउनमा रहेकाले नगरपालिकाको नियमित सेवा प्रवाहमा समस्या परेको पत्रमा उल्लेख छ ।