झापा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशैँ पर्वको बारेमा विवाद नगर्न आग्रह गरेका छन् । उनले विभिन्न किसिमले व्याख्या गर्ने गरिएपनि दशैँ नेपालीहरुको साझा पर्व भएको बताए ।

 

बडादशैँ, तिहार, छठ तथा नेपाल सम्वत् लगायत विभिन्न चाडपर्वको उपलक्ष्यमा आज बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले दशैँ महत्वपूर्ण र अर्थपूर्ण चाड भएको बताए ।

 

सामूहिक सुप्रवन्ध र सामूहिक सुव्यवस्थालाई कायम गरी नाता सम्बन्धलाई सुदृढ राख्न दशैँले मद्दत गरेको ओलीको दाबी छ । चाडपर्वले सबै परिवारमा खुशी, स्नेह प्रदान गर्ने र सबैलाई एकतामा बाँध्न मद्दत गर्ने गरेको उनको भनाइ छ ।

 

पूर्व प्रधानमन्त्री ओलीले बडादशैंको अवसरमा सबै नेपालीहरुलाई सुख र समृद्ध प्राप्त होस् भन्दै शुभकामना दिएका छन् । कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चाडवाडको अवसरमा शुभकाना दिँदै नेपाली नागरिकको जीवनमा सुख र खुशियाली ल्याउन सकोस् भनेका छन् ।

 

कार्यक्रममा माओवादी नेतृ धर्मशिला चापागाई, कांग्रेस झापाका सचिव कृष्ण हुमागाँई, राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नागरिक समाजका तर्फबाट डा रामबाबु गिरीले शुभकामना मन्तव्य राखेका थिए ।

 

नेकपा एमाले झापाले व्यवस्थापन गरेको कार्यक्रममा पार्टीलाई १० कठ्ठा जमिन निःशुल्क सहयोग गर्ने डिल्ली सिटौलालाई अध्यक्ष ओलीले सम्मान गरेका थिए । कार्यक्रममा गीत नृत्य प्रस्तुत गरिएको थियो ।