दमक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहनगर दमकमा कालो झन्डा देखाउने ११ जना पहिचानवादीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
दमक ३ मा डेढ अर्बभन्दा बढीको लागतमा बनेको भ्यू टावर (बिजनेस कम्प्लेक्स) उद्घाटन गर्न जाँदै गर्दा दिउँसो दमक चौकको आकाशे पुलनजिक पहिचानवादीहरुले ओलीलाई कालो झन्डा देखाउनुका साथै चर्को नाराबाजी गरेका थिए ।
त्यसक्रममा प्रहरीले ११ जना पहिचानवादीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा एलपी पालुङवा, केदार धिमाल, मातृका धिमाल, गंगा राई शेर्मा, बिक्रम वनेम राई, याम लोरिङ्देनलगायत रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
आजै बिहान ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले कालो झण्डा देखाएका थिए । मेचीनगर ४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्न कार्यक्रमस्थलतर्फ जाने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध उनीहरूले नाराजुलुश गरेका थिए ।
सोही क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रास्वपाका क्षेत्र नम्बर ४ का सभापति शम्भु सुस्केरा रहेका छन् । गृहजिल्लामै ओलीलाई सुरक्षा चुनौती भएपछि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रधानमन्त्रीको सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका गरी १३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।