शनिश्चरे । झापाको अर्जुनधारामा कडाखालको क्षयरोग फेला परेको छ । सामान्यरुपमा औषधि सेवन गर्दा निको नहुने एमडीआरटिबी फेला परेको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।
नगरको उच्च जोखिम क्षेत्रमा एआई प्रविधिमार्फत एक्स-रे गरी नयाँ क्षयरोगीको पत्ता लगाउने गर्ने क्रममा अर्जुनधारा ११ स्थित गिरीबन्धु टि इस्टेटमा काम गर्ने चिया मजदूरहरुको बस्तीमा कडाखालको क्षयरोग पत्ता लागेको हो ।
अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाको वार्षिक कार्यक्रमअनुसार सोमबार र मंगलबार छुट्टा छट्टै वडामा रहेका उच्च जोखिम क्षेत्रमा नयाँ क्षयरोगी पत्ता लगाउने काम गरिएको थियो ।
यसक्रममा अर्जुनधारा ११ स्थित गिरीबन्धु टि इस्टेटमा काम गर्ने चिया मजदूरहरुको बस्तीमा कडाखालको क्षयरोग रहेको स्वास्थ्य शाखाका क्षयरोग फोकल पर्सन सन्तोष चिमरियाले बताए ।
उक्त क्षेत्रमा सोमबार १४० जनामा गरिएको परीक्षणमा ५ जना शंकास्पद क्षयरोगी फेला परेको थियो । उनीहरुको खकार जाँच (जिन एक्सपर्ट)का लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
यसैगरी, अर्जुनधारा ४, ५, ७ र ८ नम्बरका सेवाग्राहीका लागि मंगलबार ७ नम्बर वडा कार्यालयमा स्वास्थ्य परीक्षण गरिएको थियो । १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा ९ जनामा शंकास्पद भेटिएकाले जिन एक्सपर्ट जाँचका लागि भद्रपुर पठाइएको फोकल पर्सन चिमरियाले बताए ।
अर्जुनधारामा ८० जनाले नियमित क्षयरोगको औषधि सेवन गरिरहेका छन् । शाखाका अनुसार अर्जुनधारा नगरपालिका क्षयरोगको उच्च जोखिममा छ ।
क्षयरोग सरुवा रोग भएकाले अर्जुनधारा उच्च जोखिममा रहेको स्वास्थ्य शाखाको तथ्यांक छ । खोजी कार्यमा शंकर अस्पतालका फिजिसियन डा. सन्तोषकुमार यादवको नेतृत्वमा १३ जना स्वास्थ्यकर्मी खटिएका थिए ।