शनिश्चरे । झापाको अर्जुनधारा ११ स्थित देउनिया खेलमैदानमा आयोजित प्रथम सालबारी-मिलडाँडा पुरुष भेट्रान्स फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

 

सालबारी मिलडाँडा युवा परिवारको आयोजनामा असोज १७ गतेदेखि हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा ज्ञाने चोक भेट्रान्स पृथ्वीनगरले झिलझिले भेट्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, दोस्रो क्वाटरफाइनल खेलमा आयोजक मिलडाँडा भेट्रान्सले चन्द्रगढी भेट्रान्स क्लबसँग खेल्नेछ ।

 

तेस्रो क्वाटरफाइनल खेलमा पाँथरको बौद्ध भेट्रान्सले चारपाने युनाइटेड भेट्रान्ससँग र अन्तिम क्वाटरफाइनल खेलमा मेची भेट्रान्सले बिर्तामोड भेट्रान्स क्लबसँग भिड्ने छ ।

 

असोज २४ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजार १११ र उपविजेताले नगद ३१ हजार १११ नगदसहित ट्रफी पाउने छ । खेलको प्लेयर अफ दी म्याचले नगद २ हजार र ट्रफी पाउँदा विधागत पुरस्कारतर्फ नगद ३ हजार ५ सय र सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजारसहित ट्रफी पाउने छ ।

 

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ७ लाख ९० हजार २२२ रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता खेलकुद क्षेत्रमा सक्रिय भेट्रान्स खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता संयोजक नन्दलाल खतिवडाले बताए ।