काठमाडौं । त्रिभुवन विश्वविद्यालयकोे केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढिरहेको छ । दैनिक नै एक दर्जनभन्दा बढी एम्बुलेन्स त्यहाँ पुग्छन् ।
केही समय बस्छन् र लगत्तै फर्कन्छन् । कहिले नेपाली सेनाका सवारी पुग्छन् त कहिले सशस्त्र प्रहरी बलका । कहिले नेपाल प्रहरीका सवारी हान्निदै पुग्छन् । वीर अस्पताल, शिक्षण अस्पतालका एम्बुलेन्स पनि उत्तिकै पुग्छन् ।
एम्बुलेन्स किन गएका होलान् भनेर जिज्ञासा पनि आमरूपमा उत्पन्न हुनसक्छ । विश्व स्वास्थ्य सङ्गठन र सरकारले तय गरेको मापदण्डविपरित गएर भने विश्वविद्यालय परिसरमा कुनै भीडभाड गरिएको छैन ।
आखिर के छ त ? विश्वविद्यालय परिसरमा । जवाफ सहज छ, राष्ट्रिय आविष्कार केन्द्र । नेपालको ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउनेलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महावीर पुनले विश्वविद्यालय परिसरमा नै केन्द्र स्थापना गर्नुभएको छ ।
केन्द्रमा आजकल दैनिक २० जना दिनरात नभनी काम गरिरहेका छन् । केन्द्रका प्रमुख पुन पोखरामा हुनुहुन्छ तर उहाँ पोखरामा रहेको भान कोही कसैलाई पनि छैन । केन्द्रमा भइरहेको काम कारवाहीको बारेमा उहाँले श्रव्यदृश्य माध्यमबाट निगरानी मात्रै गर्नुहुन्न, निर्देशनसमेत दिनुहुन्छ ।
कोरोनाको सङ्क्रमणबाट जोगाउने लक्ष्यका साथ राष्ट्रिय आविष्कार केन्द्रमा महत्वपूर्ण काम भइरहेको छ । विश्वव्यापी रूपमा नै कोरोनाको महामारी बढ्दै गएको बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उत्पादन गरिरहेको छ केन्द्रले ।
पीपीई मिलाउने र पट्याउने काममा विगत १० दिनदेखि खटिइरहनु भएका पर्वतका अमबहादुर रोकालाई पनि सङ्कटको समयमा दिनरात नभनी काम गर्दा पनि थकाइको महसुस भएको छैन । कोभिड–१९ लागेका मानिसका लागि खाना औषधि पुर्याउन रोबोट बन्दैछ ।
सो कार्यका लागि इन्जिनीयर सुरज कार्की, किरण रौनियार, रिकेश देव, राम चौधरीलगायत छ जनाको समूहले काम गरिरहेको छ । फ्याकिएका ट्रलीको सदुपयोग गरिएको छ । बाहिरबाट मालसामान ल्याउनुपर्ने बाध्यता पनि छैन । फ्याकिएका सामान नै प्रयोग गरेर रोबोट तयार हुँदैछ ।
सोमबार डेमो गरिसकिएको छ । “स्वचालित बनाउनका लागि आवश्यक प्रणाली जडान हुँदैछ, अब केही दिनमा तयार पार्छौँ, यसले बिरामी जहाँ हुन्छ त्यहाँ खाना र औषधि लिएर जान्छ, मानिस गइरहनु पर्ने आवश्यकता हुँदैन”, इन्जिनीयर शङ्कर ढकालले भन्नुभयो ।
रोबोट अबको तीन दिनमा तयार हुनेछ । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा विभिन्न तीन तल्लामा कोरोनाका बिरामी उपचार गर्ने स्थान बन्दैछ । आईसीयू तयार हुँदैछ ।
वीरेन्द्र सैनिक अस्पताल, टेकु अस्पताल सबै क्षेत्रमा १५ देखि २० वटा रोबोट तत्कालै आवश्यक परेको छ । माग पनि उत्तिकै आइरहेको छ, केन्द्रलाई ।
कोरोनाको उपचार गराइरहेका बिरामी र चिकित्सकबीच कुनै पनि समयमा प्रत्यक्ष सम्पर्क नहोस्, खाना तथा औषधि पुर्याउनसमेत सहज होओस् भनेर नै रोबोट तयार पारिएको इन्जिनीयर सुरज कार्कीले बताउनुहुन्छ । रासस