इलाम । चिकित्सा क्षेत्र सुधारको माग गर्दै १६औं चरणको अनशन तयारी गरेका डा. गोविन्द केसीले ७ दिनलाई अनशन स्थगित गरेका छन्। अनशन बस्नकै लागि इलाम आएका डा.केसीले बुधबार साँझ सदरमुकाममा पत्रकार सम्मेलन गरी संघीय संसद्को संसदीय समितिको आग्रह स्वीकार्दै आफूले केही दिन पर्खिएको बताए।

‘म इलाममा अनशन बस्नै आएको हुँ,’ उनले भने, ‘तर, संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले कम्तीमा २ दिन अनशन नबस्न आग्रह गरेपछि ७ दिन पर्खिने निर्णयमा पुगेको हुँ।’ बुधबार संसदीय समितिमा चिकित्सा शिक्षा विधेयकमा छलफल भएको र छलफल केही दिन लम्बिने भन्दै सभापति घर्तीले पर्खिन आग्रह गरेको सुनाए। ‘सभापतिले हाम्रा एक अभियन्तालाई फोन गरेर अनशन केही दिन स्थगित गर्न भन्नुभएछ,’ उनले भने, ‘त्यति मात्र होइन, साउन १० को सहमतिअनुसारै ऐन ल्याउन पहल भइरहेको पनि भन्नुभएकाले मात्र स्थगित गरेको हुँ।’

मंगलबार इलाम आएका डा.केसीले इलाममा १६औंं अनशन बस्ने तयारी गरेर स्थल खोजी गरेका थिए। जुम्लामा २७ दिन आमरण अनशन बसेका बेला डा.केसीले इलाम, पाँचथर, डडेल्धुरा, डोटी र उदयपुरमा पनि सरकारी मेडिकल कलेज खोल्न माग राखेका थिए। उनले राजधानीबाहिरका यी जिल्लामा सरकारी मेडिकल खोल्नुपर्ने आफ्नै चौथौ अनशनदेखिकै माग रहेकाले इलाम आएको बताए। ‘अब पनि माग पूरा भएन भने अनशन बस्छु, इलाममै बस्छु,’ उनले भने, ‘ऐन बनाउने काम संसद्कै भएको र प्रक्रिया चलिरहेकाले थामिदिएको हुँ।’

गत साउन १० मा डा.केसीका प्रतिनिधि र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो। आगामी १० वर्षभित्र काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धन पर्खिरहेका काठमाडौंका मेडिकल कजेल सरकारले किनिदिएर काठमाडौंबाहिर जान सहजीकरण गर्नेलगायतका २२ बुँदामा त्यतिबेला सहमति भएको थियो। गत मंसिर ११ मा डा.केसीले विज्ञप्ति निकालेर सरकारसँग भएको पहिलेको सहमति स्मरण गराएका थिए। डा.केसीले पुनः सत्याग्रहको चेतावनी दिएपछि उनलाई संसद्को शिक्षा तथा स्वास्थ्य समितिले ‘केही दिन पर्खन’ भनेको थियो।

डा.केसीले दिएको अल्टिमेटम पुस १७ लाई थियो। तर, मंगलबार पनि पुनःबुधबारसम्म पर्खिदिन डा.केसीलाई उनका सहयोगीहरूमार्फत् संसदीय समितिले पुनः आग्रह गरेको थियो।