गोविन्द लामिछाने

मिक्लाजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन् ।

पूर्वी नेपालका चार जिल्ला जोड्ने भेडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारणलाइन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिकरूपमा काम हुँदै आएको बताए ।

‘मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक पुग्दैछ । बिजुलीबाट मुलुक उज्यालो बन्दैछ’–प्रधानमन्त्री ओलीले भने–‘सबै जिल्लालाई सडक सञ्जालले जोडिसकेपछि गाउँ–गाउँसम्म सुगम सडक बनाउने अभियान अघि बढाइन्छ ।’

निरक्षरताको अन्त्य गर्ने कार्यक्रम विस्तार भइरहेको छ भन्दै प्रधानमन्त्री ओलीले फुस, खर र परालको छानो रहेका घरमा जस्तापाता उपलब्ध गराइने कार्यक्रम अघि बढेको बताए ।

मुलुकमा भूकम्पपछिको पुनःनिर्माण ४५ प्रतिशत पूरा भएको जानकारी दिँदै उनले पुरातात्विक पुनःनिर्माणसमेत द्रुतगतिमा हुने बताए ।

कोसी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले भने–‘पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।’

विद्युत् निर्यात सम्झौता भइसकेका कारण विद्युत् उत्पादनमा बढोत्तरी हुने बताउँदै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र सघन उत्पादनमा जुट्न स्थानीय बासिन्दालाई आग्रह गरे ।

शुक्रबारै उद्घाटन भएको पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय प्रसारणलाइनबाट बिजुली बलेको छ ।

कार्यक्रमका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रदेश सरकारको मेरूदन्डकारूपमा रहेको भेडेटार–रवि–राँके सडक कालोपत्रे हुने सुनिश्चितता भएसँगै प्रदेश नम्बर–१ पहाडी जिल्लाको समृद्धिको ढोका खुलेको बताए ।

उनले भेडेटार–रवि–राँके सडकको मध्यविन्दु रविलाई झापाको दमकसम्म जोड्ने दमक–चिसापानी–रवि सडककोसमेत चाँडै शिलान्यास हुने जानकारी दिँदै सरकारले देखाएको सपना पूरा गर्न आफ्नो मन्त्रालय ठोस कार्ययोजना तयार पारेर अघि बढिरहेको बताए ।

मोरङ, धनकुटा, इलाम र पाँचथरका विभिन्न गाउँपालिका तथा नगरपालिकालाई जोड्ने यो सडक कालोपत्रे भइसक्दा चार जिल्लाका बासिन्दाले राहत पाउनेछन् ।

भ्याट र पीएससहित रू तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ लागतमा १०० किलोमिटर पक्की सडक बन्नेछ ।

एप्को इन्फ्राटेक प्रालि लखनउ, भारतले निर्माण गर्न लागेको उक्त सडक सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय भेटेटार–रवि–राँके सडक आयोजनाले कार्यान्वयन गर्नेछ ।

उक्त आयोजना गत मंसिर ३ गते सम्झौता भएकामा तीन वर्षभित्र सम्पन्न हुनेछ ।

सात मिटर कालोपत्रे र दुवैतर्फ एक/एक मिटरसहित दुई लेनको सडक निर्माण हुने ठेकेदार कम्पनी एप्को इन्फ्राटेक प्रालि लखनउ, भारतका डाइरेक्टर राजु सिंहले जानकारी दिए ।

सडक कालोपत्रेका लागि एक्जिम बैंक अफ इन्डियाले ८७ र नेपाल सरकारले १३ प्रतिशत लगानी गर्ने जनाइएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले कोसी र मेची जोड्ने सो सडकले यहाँको समृद्धिको ढोका खोल्ने बताए ।

सो अवसरमा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिम र माङ्सेबुङ गाउँपालिकाका उपाध्यक्ष सुनिता सुब्बाले गाउँपालिकाको विकासका लागि प्रधानमन्त्री ओलीलाई मागपत्र बुझाएका थिए । रासस