पाँचथर । फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपमा शानदार जीत दर्ता गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिम माविमा सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ टिमलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै झापा ११ एफसी सेमिफाइनलमा पुगेको हो । झापाका लागि पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल सम्भव भएको थियो ।
झापाली स्ट्राइकर कर्ण लिम्बूको कप्तानीमा उत्रेको झापा ११ ले खेलको पहिलो गोल गरे पनि जीत निकाल्न दोस्रो हाफ कुर्नु परेको थियो । खेलको २३औँ मिनेटमै कर्ण लिम्बूले गोल गरेर अग्रता दिलाए पनि एपीएफ मनिष लामाले ३२औँ मिनेटमा गोल गरेर बराबरीमा पु¥याएका थिए ।
तर, झापाका दिलेन लोक्तामले खेलको ३८औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै, म्यान अफ दी म्याच घोषित कर्ण लिम्बूले खेलको अन्त्यतिर अर्को गोल गर्दै ३–१ को फराकिलो अन्तरमा जीत सुनिश्चित गरे । उनले नगद १० हजार पाए ।
फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा १० टिम सहभागी छन् । विजेता टिमले नगद ४ लाख र उपविजेता टिमले नगद २ लाखसहित ट्रफी पाउनेछ । मंगलबारको खेल त्रिभुवन आर्मी क्लब र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच खेल हुने आयोजकका महासचिव पासाङ तामाङले जानकारी दिए ।