पाँचथर । पराजयको संघारमा पुगेको काठमाडौँको सरस्वती युथ क्लब फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा साविक विजेता सुनसरी ११ लाई रोक्दै सरस्वतीले बाजी मारेको हो । सुनसरीलाई २–१ गोलले पन्छाउँदै सरस्वतीले अन्तिम चारमा स्थान सुरक्षित ग¥यो । पहिलोपल्ट प्रतियोगितामा सहभागी सरस्वतीका लागि विदेशी खेलाडी भिक्टोरले २ गोल गरे भने सुनसरीका लागि दिपेन तामाङले सान्त्वना गोल गरे ।

१–० को स्थितिलाई उल्टाउँदै सरस्वतीले सुनसरी ११ माथि बाजी मारेको हो । खेलको आठौँ मिनेटमै सुनसरीका दिपेन तामाङले गोल गरेर अग्रता दिलाएका थिए । उमेश राईको क्रसमा दिपेनले आकर्षक गोल गरेका थिए । तर, अन्तिम १४ मिनेट सम्हालिन नसक्दा सुनसरीले २ गोलको सामना गर्नु प¥यो ।

सरस्वतीका लागि भिक्टोरले खेलको ७६औँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए । विपक्षी गोलरक्षक विष्णु चौधरीसँगको वान भर्सेज वानमा भिक्टोरले दोस्रो बार च्याप्दै बललाई चिप गरेर जाली चुमाएका थिए । लगत्तै सुनसरीका गोलरक्षक विष्णु भिक्टोरकै अर्को आक्रमणमा परे ।

खेलको सुरुवातमै एक गोलले पछि परेर दबाब झेलेको सरस्वतीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । खेलको ८०औँ मिनेटमा भिक्टोरले नै वान भर्सेज वानमा काउन्टर अट्याक गरेर नतिजा २–१ मा पु¥याए । उनले सुनसरीको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै पटक पटक गोलपोस्टमा आक्रमण गरेका थिए । उत्कृष्ट प्रदर्शन गरेका भिक्टोर म्याच घोषितहुँदै आयोजकका तर्फबाट नगद १० हजार पाउन सफल भए ।

पाँचथर जिल्ला फुटबल संघ र फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा १० टिम सहभागी छन् । विजेता टिमले नगद ४ लाख र उपविजेता टिमले नगद २ लाखसहित ट्रफी पाउनेछ । बिहीबारको खेल रोयल एफसी दार्जीलिङ र काठमाडौँको ब्वाइज युनियनबीच खेल हुने आयोजकका महासचिव पासाङ तामाङले जानकारी दिए ।