काठमाडौं । नेपालको चर्चित सांगीतिक व्याण्ड नेपथ्यले सन् २०१९ को पहिलो कार्यक्रम पूर्वबाट गर्ने भएको छ । मेचीदेखि महाकालीसम्मको ‘नेपाल यात्रा’ सम्पन्न गरेपछि  नेपथ्य फेरि पूर्वतिरै जाने भएको हो । नेपथ्यले माघे संक्रान्तिको भोलिपल्ट पाँचथरको फिदिममा प्रस्तुति दिँदैछ ।

माघ २ गते फिदिम उच्च माविको खेल मैदानमा ब्याण्डले लोक, रक तथा अन्य सिर्जनाहरु सुनाउनेछ । दशैं लगत्तै सिक्किमको राबाङ र त्यसपछि देशका प्रमुख चारवटा सहरको ‘नेपाल यात्रा’ गरेपछि नेपथ्यलाई अन्य पनि विभिन्न सहरहरुबाट कन्सर्टको निम्ति प्रस्ताव आएको थियो । त्यसमध्ये हालसम्म नेपथ्यले प्रस्तुत गर्न नपाएको नयाँ सहर भएकै कारण फिदिमलाई प्राथमिकतामा राखिएको हो ।

प्राचीन समयमा लिम्बूहरूको केन्द्रविन्दु मानिने तत्कालीन पान्थरथुम अर्थात् पाँचथर जिल्लाको सदरमुकाम हो फिदिम। पूर्वाञ्चलको माथिल्लो यस भेगमा नेपथ्यले पहिलोपटक आफूलाई प्रस्तुत गर्न लागेको हो। पहिलोपटक नेपथ्यलाई आफ्नो भेगमा निम्त्याउन तत्पर स्थानीय आयोजकहरूका गतिविधिकै कारण पनि यतिबेला पाँचथरमा चहलपहल बढेको छ।

स्थानीय आयोजक श्री सुम्हालुङ युथ क्लबले फिदिम सहरको प्रवर्द्धनका निम्ति कन्सर्ट आयोजना गर्ने र मुनाफाका रकमबाट विभिन्न सामाजिक कार्यमा योगदान दिने उद्देश्य रहेको कार्यक्रम संयोजक दिपेन्द्र यक्पान्देनले बताए ।

स्थानीय आयोजकका अनुसार बुधबारको कन्सर्टका निम्ति पाँचथर बाहेक झापा, इलाम, तेह्रथुम र ताप्लेजुङमा समेत कन्सर्टको प्रचार प्रसार तीव्र पारिएको छ। त्यसैगरी यी सबै स्थानमा बेग्लाबेग्लै टिकट काउन्टरसमेत राखिएका छन्।