पाँचथर । पाँचथरको फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको फाइनल प्रवेशका लागि आज झापा ११ र ए डिभिजनको सरस्वती क्लब भिड्दैछन् ।

खेल सदरमुकाम फिदिमस्थित फिदिम माविको खेलमैदानमा दिउँसो २ः३० बजेदेखि हुँदैछ । दर्शकको भरपुर समर्थन पाउदै आएको झापा आफ्ना नियमित स्ट्राईकर कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्ताम र गोलरक्षक मनोज प्रधानसहित मैदान उत्रदैछ । सरस्वतीले भने फरवार्ड भिक्टोर सहित तीन विदेशी खेलाडीलाई मैदान उतार्दैछ ।

झापा ११ ले जारी प्रतियोगितामा ताप्लेजुङ र एपीएफलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सरस्वतीले भने डिफेन्डिङ च्याम्पियन सुनसरी ११ लाई रोक्दै झापासँगको भेट पक्का गरेको हो ।

झापाले फाइनल प्रवेशका लागि सरस्वतीमाथि जति दर्ता गर्नुपर्ने बाध्यता छ । कप्तान कर्ण लिम्बूले यसअघि तीन गोल गरेर सर्वाधिक गोलकर्ताको उपाधि नजिक पुगेका छन् । आजको खेलमा कर्णले गोल्डकपकै पहिलो ह्याट्रिक गर्लान् त ?

फिदिम स्पोर्टिङ क्लब र जिल्ला फुटबल संघ पाँचथरले संयुक्तरुपमा आयोजना गरेको गोल्डकपको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा १० टिमले सहभागीता जनाएका छन् ।