पाँचथर । झापा ११ एफसी र त्रिभुवन आर्मी क्लब यस सिजनकै पहिलो उपाधि रक्षा गर्ने दाउमा छन् ।  फिदिममा जारी १०औँ फाल्गुनन्द गोल्डकको फाइनलमा पुगेका दुवै टोली उपाधि दौडमा छन् ।

आज भएको पत्रकार भेटघाटमा दुबै प्रशिक्षकहरुले उपाधिको लागी तयार रहेको बताएका हुन् । सोमबार फिदिम माविको खेल मैदानमा उपाधिको लागी आर्मी र झापा प्रतिस्पर्धा गर्दैछन् । झापाले सेमिफाइनलमा सरस्वती युथ क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको हो । आर्मीले सेमिफाइनलमा रोयल फुटबल क्लब दार्जिलिङलाइ हराउदै झापासंगको उपाधि भिडन्त पक्का गरेको थियो ।

 झापाका प्रशिक्षक प्रवेश कटुवालले उपाधिको लागी पाँचथर आएको बताए । आर्मी राम्रो टिम भए पनि आफ्नो टिममा अनुभवी खेलाडीहरु भएको हुँदा उपाधि जित्ने दाबी गरे । ‘पाँचथरको दर्शक र मैदानको साथ झापालाई रहने हुदाँ हामीलाइ उपाधिको लागि सहज हुनेछ, ’ कटुवाले भने ।

यता आर्मीका प्रशिक्षक गंगाराम देउजाले झापाली खेलाडीहरुको भन्दा आफ्नो टिमको टिम स्पिड राम्रो भएकोले उपाधि जित्ने दावी गरे । ‘हाम्रो युवा टोली भए पनि टिमवर्क र टिमस्पिड राम्रो भएकाले उपाधि हामी जत्नेछौं’ देउजाले भने ।

झापाका कप्तान कर्ण लिम्बुले आर्मीको टिम स्पिडलाई रोक्न झापाले टिकिटाका शैलीमा फुटबल खेल्दै उपाधिको लागी प्रतिस्पर्धा गर्ने बताए । आर्मीका कप्तान युद्ध शाहिले उपाधिको लागी मैदानमा अन्तिम समयसम्म प्रतिस्पर्धा गर्ने बताए ।

पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख प्राप्त गर्नेछ । उपविजेताले दुई लाख प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट एक जना खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् ।