भद्रपुर, (झापा) । भद्रपुर प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको उपाधि आयोजक वडा नम्बर ६ ले उचालेको छ ।

उपाधी उचालेसँगै वडा नम्बर ६ ले नगद ४० हजारसहित ट्रफि हात पारेको छ । उपविजेता चित्त बुझाएका वडा नम्बर ५ ले नगद २० हजारसहित ट्रफि पाएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको भद्रपुर नगरपालिका अन्तरगतको ६ नम्बर वडा कार्यालय र बलबस्टर्स क्लव भद्रपुरको संयुक्त आयोजनामा आज भएको फाइनल खेलमा वडा नम्बर ५ लाई ३१ रनले पराजित गर्दै वडा नम्बर ६ ले उपाधि उचालेको हो ।

भद्रपुर माविको मैदानमा टस हारेर पहिला व्याटिङ्गको निम्तो पाएका वडा नम्बर ६ ले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १५५ रन बनाए । आर्यन यादवले दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन, किशोर लामाले ६ चौका र एक छक्का प्रहार गर्दै ३३ रन, नविन अग्रवालले ५ चौका प्रहार गर्दै २० र धिरज चौधरीले दुई चौका प्रहार गर्दैै ११ रन बनाए । बलरतर्फ सुर्दशन महर्जनले ३ ओभरमा ३१ रन खर्चिएर दुई विकेट लिए । दर्पंण थापा, नितिन राणा, गोपाल शर्मा, आयुस झा र बासु साहले एक÷एक विकेट लिए ।

१५६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका वडा नम्बर ५ ले १६ ओभर ३ बलमा १२४ रनमा अलआउट भए । अजय राजपुतले विस्फोटक पारी खेल्दै ४ चौका र ४ छक्का प्रहार गर्दै ४६ रनको व्यक्तिगत स्कोरमा आउट भए । उनले टिमलाई जिताउन विस्फोटक पारी खेलेपनि अन्य व्याटस्मेन धेरै बेर पिचमा टिक्न नसक्दा टिमले हार वेहार्नु परेको थियो । नितिन राणाले दुई चौका प्रहार गर्दै १२ रनमा आउट भए । बलरतर्फ आर्यन यादवले ४ ओभरमा २२ रन खर्चिएर ४ विकेट लिएका थिए । त्यस्तै धिरज चौधरीले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट र किशोर लामाले २ ओभरमा २३ रन खर्चिएर दुई विकेट लिए । खेलको म्यान अफ द म्यान आर्यन यादव घोषित भए ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट व्याटस्मेनमा वडा नम्बर ६ का इश्वर हाडा, उत्कृष्ट बलर र फिल्डरमा आयुस झा, उत्कृष्ट किपरमा राकेश साह र म्यान अफ सिरीजमा नितिन राणा घोषित भए । उनीहरुलाई नगद तथा ट्रफिले पुरस्कृत गरिएको थियो ।

६ नम्बर वडा अध्यक्ष प्रेम बरुवालको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा पूर्व क्रिकेट खेलाडीहरु प्रकाश अधिकारी, राजेश गुप्ता, शंकर गौतम, शंकर मैनाली र देवराज सुब्बालाई नगदसहित सम्मान गरिएको थियो । स्वागत मन्तव्य बलबस्टर्स क्लवका अध्यक्ष जितेन्द्र शर्माले राखेको कार्यक्रममा नगरका उपप्रमुख चन्द्रामाया श्रेष्ठ, शर्मिला अधिकारी, शंकर गौतम लगायतले मन्तव्य राखेका थिए ।