अर्जुनधारा, झापा । झापा जिल्ला टेक्निकल कमिटी र शनिश्चरे सितोरियो कराते डोजोले झापाको अर्जुनधारामा शनिबार जुनियर खेलाडीहरुको दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रत्यक्ष अवलोकन गरेको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै खेलाडीको भविष्यको लागि संघमा देखिएको विवाद समाधान गर्न मन्त्रालय र परिषद्कोतर्फबाट पहल भइरहेको बताए ।

कमिटीका सहसंयोजक एवम् डोजोका प्रमुख प्रशिक्षक कुमार उप्रेतीको अध्यक्षतामा आयोजित कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शी, अन्तर्राष्ट्रिय च्याम्पियनसीपका स्वर्ण पदकधारी खेलाडी एस्तर राईलगायतको आतिथ्यता रहेको थियो ।

कमिटीका सचिव जगन कार्कीका अनुसार समारोहमा वाईट बेल्टदेखि ६ तहका ब्राउन बेल्टसम्मका निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘ख’अन्र्तगत सात वटा डोजोका १३५ जना खेलाडीहरु दीक्षित भए । कमिटीको प्राविद्यिक सहयोग रहेको समारोहको सञ्चालन प्रमुख प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए ।