बिर्तामोड । झापा स्पोर्टस् अवार्ड २०७४ का लागि मनोनयनमा परेका अन्तिम तीन जना खेलाडीको नाम सार्वजनिक भएको छ ।

स्व. आशिषविक्रम नेम्बाङको स्मृतिमा गत वर्षदेखि सुरु झापा स्पोर्टस् अवार्डमा यसवर्ष फुटबल खेलबाट बढी खेलाडी मनोनयनमा परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको प्रतिभा छनौट समितिले आइतबार पत्रकार सम्मेलन गरी मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो ।

समितिका संयोजक पर्वत पोर्तेलका अनुसार वर्ष उत्कृष्ट खेलाडी (पुरुष)तर्फ फुटबलका विशाल राई बी, अनन्त तामाङ र नवयुग श्रेष्ठ मनोनयनमा परेका छन् । उनीहरु तीनै जना राष्ट्रिय टोलीका सदस्य हुन् । श्रेष्ठ इलामका हुन् भने राई र तामाङ झापाका हुन् ।

त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (महिला)तर्फ जुडोकी देविका खड्का, करातेकी एस्तर राई र फुटबलकी अन्जिला सुब्बा मनोनयनमा परे । एपिएफमा देविका र एस्तर झापाकी हुन् भने अन्जिला महिला फुटबल राष्ट्रिय टोलीकी गोलकिपर इलामकी हुन् ।

समितिका सहसंयोजक हिमाल खरेलका अनुसार वर्ष उत्कृष्ट युवा खेलाडीतर्फ एथलेटिक्सकी सविता कार्की (ताप्लेजुङ, एथलेटिक्सकै प्रकाश दुनावार (झापा) र फुटबलकी सम्झना लावती (झापा) मनोनयनमा परेका छन् । त्यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ जुडोका गंगा खड्का, क्रिकेटका विरु श्रेष्ठ र बक्सिङका डम्बर लिम्बू मनोनयनमा परेका छन् । उनीहरु सबै झापाका प्रशिक्षक हुन् ।

समितिले यसवर्षदेखि गर्न लागेको लाइफटाइम अचिभमेन्ट अवार्ड र पिपुल्स च्वाइज प्लेयरको निश्चित भइनसकेको भन्दै अवार्डकै दिन सार्वजनिक गर्ने जानकारी गराएको छ । यसवर्षको अवार्ड माघ २६ गते आदर्श व्याङ्क्वेटमा हुनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिलालाई मोटरसाइकल र स्कुटी प्रदान गरिनेछ भने युवा, प्रशिक्षक र पिपुल च्वाइज प्लेयरलाई जनही २५ हजार प्रदान गरिनेछ । त्यस्तै, लाइफटाइम अचिभमेन्टलाई भने ३५ हजार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पुरस्कार राशि एन्फाका उपाध्यक्ष पंकजविक्रम नेम्बाङले प्रदान गर्नेछन् भने मोटरसाइकल र स्कुटी झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले प्रायोजन गर्ने यसअघि नै घोषणा भइसकेको छ ।

एनएसजेएफ झापाका अध्यक्ष रमेश समदर्शी राईका अनुसार अवार्डको तयारी अन्तिम पुगेको छ । उनका अनुसार प्राविधिक उपसमिति, सांस्कृतिक उपसमिति र आर्थिक उपसमितिले पनि अवार्डको तयारी अन्तिम पुगेको बताए । आर्थिक उपसमितिका संयोजक बुद्ध तामाङका अनुसार अवार्ड सम्पन्न गर्न साडे पाँच लाख खर्च लाग्नेछ ।