माघ २७ , पोखरा । पोशाक महासंघ नेपालले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फेशन सप्ताह गर्ने भएको छ । नेपालको राष्ट्रिय पोशाक, आदीवासी जनजाति, रैथाने, लोपन्मुख पोशाकको संरक्षण, संबद्र्धन तथा प्रचारप्रसार गर्ने साथै नेपाली कला संस्कृति तथा मौलिकताको जर्गेना गर्ने उद्वेश्यले उक्त फेशन सप्ताह गर्न लागिएको हो । आइतबार पोखरामा पत्रकार सम्मेलन गरी अन्र्ताष्ट्रिय फेशन सप्ताह यही चैत २८, २९ र ३० गते पोखरामा आयोजना हुने जानाकारी पोशाक महासंघ नेपालका अध्यक्ष नवीन लुइटेलले जानकारी दिए ।

आइतबार भएको पत्रकार सम्मेलनमा पोशाक महासंघ नेपालका अध्यक्ष नवीन लुइटेल, महासचिव अधिवक्ता राजन ढुंगेल, फेसन डिजाइनर संघका अध्यक्ष दिपक न्यौपाने, सहसचिव अमुत कुँवर, सदस्य प्रेम देव, पोशाक महासंघ नेपालका वरिष्ठ सल्लाहकार जुगु गुरुङ, अन्तर्राष्ट्रिय फेशन सप्ताहका कार्यक्रम प्रचारक राजु गोले तथा सञ्चारकर्मी / मोडल अरुणा सुवेदीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा हलिउड तथा बलिउड, ओस्कार, ग्रामीमा सेलिब्रेटीहरुले पहिरी सकेका ज्वेलरीहरुको ख्यातीप्राप्त डिजाइनर मोना स्रोफको सहभागिता रहनेछ । फेसन सप्ताहमा मौलिक कला तथा राष्ट्रियता झल्कने पोशाकहरु, जनजाति पोशाक, डिजाईनहरुद्वारा फ्यूजन गरी बनाइएका पोशाकहरु, विभिन्न मुलुकका डिजाईनरद्वारा आ– आफ्ना देशका पोशकका विभिन्न डिजाइनका पोशाकहरु प्रदर्शन गरिनेछ ।

पोखरामा हुने कार्यक्रमलाई सिल्भर इन्टरटेनमेन्टले व्यवस्थापन गर्ने भएको छ भने ‘द काठमाडौँ पोस्ट’ ले प्रिजेन्टरको रुपमा साथ दिनेछ । नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० प्रवद्र्धकको रुपमा रहनेछन् । कार्यक्रम अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न जातिहरुको पहिरन, खाने परिकारका प्रदर्शनी समेत गरिनेछ ।