धरान । दाफिन्स एफसी, क्यामरुनले धरानमा सम्पन्न रेडबुल २१ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ ।

दाफिन्सको यो लगातार दोस्रो उपाधि हो । यसअघि अफ्रिकी टोलीले भर्खरै पोखरामा सम्पन्न मनकामना केबलकार पोखरा कपको उपाधि जितेको थियो ।

शनिबार धरान रंगशालामा सम्पन्न फाइनल खेलमा दाफिन्सले आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

बिजेता बनेको दाफिन्सले उपाधिसहित नगद ८ लाख हात पारेको छ भने उपविजेता धरान एफसीले ४ लाखमा चित्त बुझाएको छ ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।