चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको व्यङ्यात्म गीत अहिले युट्युवबाट हटाइएको छ ।

भ्रष्टाचारको विषयवस्तुमा आयोजित उक्त गीत विवादमा तानिएपछि निर्माण पक्षले अहिललाई यो युट्युवबाट हटाएको हो ।

गीतमा प्रयोग भएका शब्दले राज्यको उच्च ओहदासम्म तरङ पैदा गरेको थियो । काम केही नगरेको, ठूला–ठूला भाषण मात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ जस्ता शब्द गीतमा प्रयोग भएका कारण यसका गायक पशुपतिले बिभिन्न दवाव झेल्नु परेको छ । सोही कारणले पनि गीत अहिले युट्युबबाट हटाइएको छ ।

गीतका गायक पशुपति शर्माले शनिबार राती एक बिज्ञप्ती जारी गर्दै गीत युट्युवबाट हटाइएको जानकारी दिएका छन् । गीतमा प्रयोग भएका केही शब्दले विवाद निम्त्याउन सक्ने देखेकोले गीत परिमार्जन गर्न अहिले युट्युवबाट हटाइएको उनले बताएका छन् ।

‘मेरो गीतमा यहाँहरुले देखाएको सहभागीता प्रति हार्दिक नमन गर्दछु’ पशुपतिद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ‘कुनै राजनीतिक आग्रह, पुर्वाग्रह पालेर मैले गीत बनाएको होइन । देशमा शुशासन कायम हुनुपर्छ, देशमा बिसंगती ब्यक्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु ।’

यता, गीत बन्दको बिरोध गर्दै राजधानीको माइतीघरमा मण्डलामा बिरोध समेत प्रदर्शन गरिएको छ । ‘गीत बन्द होइन भ्रष्टाचार बन्द गर्नुपर्छ’ भन्ने नारा घन्काउदै बिरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा विवादमा परेको पशुपतिको गीत बजाउदै नाचगान समेत गरिएको थियो ।