बिर्तामोड । त्रिभुवन आर्मी क्लबले तेस्रो पटक झापा गोल्डकपमा मग मग झापा ११ एफसीसँग भेट पक्का गरेको छ ।
शनिबार डोमालाल राजवंशी रंगशालामा सम्पन्न अन्तिम सेमिफाइनल खेलमा क्यामरुनी टोली दाउफिन्स एफसीलाई १ ० गोलले पाखा लगाउँदै झापा ११ सँग फाइनलमा भेट पक्का गरेको हो । खेलको २३ मिनेटमा दाउफिन्सको आत्मघाती गोलको उपहारबाट आर्मीले फाइनल यात्रा तय गरेको हो ।

दाउफिन्समाथि आर्मीले यस सिजनमा पहिलो जीत निकालेको हो । यसअघि आहा रारा गोल्डकपको सेमिफाइनलमा १ ० जीत निकालेको आर्मीलाई पोखराकै सफल कपमा ४ १ मा दाउफिन्सले पराजित गरेको थियो । खेलको म्यान अफ दी म्याच आर्मीका विमल पाण्डे घोषित भए । उनले नगद १५ हजार पाए ।

आर्मीले झापा गोल्डकपमा झापासँगको भेट पहिलो, तेस्रो र चौथो गोल्डकपमा भएको हो । यसअघिको भेटमा झापालाई आर्मीले सडन डेथमा जीत निकालेर अघि बढिरहेको थियो । सोमबार हुने फाइनल खेलमा कसले बाजी मार्ला ? त्यो भने प्रतिक्षाको विषय बनेको छ ।
१० टिम सहभागी गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ ।