गोलधाप, प्लम्बिङ सम्बन्धि सामान्य समस्या गृहिणीले घरमै समाधान गर्न सकुन भन्ने उदेश्यले हल्दिबारी १ गोलधापमा महिलाहरुलाई प्लम्बिङ सम्बन्धि १२ दिने तालिम शुरु गरिएको छ । बिहीबारदेखि शुरु तालिम १२ दिनसम्म चल्नेछ ।

रमाइलो गोल्धाप टोल बिकास सस्थाको आयोजनामा शुरु भएको तालिममा वडाका ३६ जना महिलाहरुको सहभागिता रहेको हल्दिबारी १ नं वडाअध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिएका छन् ।

वडाको आर्थिकवर्ष ७५-७६ को बजेटबाट प्लमसम्बन्धि तालिम आयोजना गरिएको वडाअध्यक्ष सापकोटाले बताए ।
तालिमबाट महिलाहरु आफ्ना घरमा जोडिएका धारामा आइपर्ने सामान्य समस्याहरु आफै हल गर्न सक्षम हुनेछन् भन्ने अपेक्षा लिइएको अध्यक्ष सापकोटाले बताए ।

हल्दिबारी वडा नं १ गोलधापमा निकट भविश्यमै खानेपानीको धारा विस्तार गर्ने योजना रहेको छ ।
पानीको प्राविधिक बोलाएको समयमा आइनपुग्ने हुँदा आफ्नो घरमा जोडिएको धारा बिग्रिएमा आफै मर्मत गर्न सकुन भन्ने तालिमको उदेश्य रहेको तालिम प्रशिक्षक ध्यानबहादुर तामाङले बताए ।

वडाअध्यक्ष सापकोटाले गरेको तालिम उद्घाटन समारोहको सभापतित्व सस्थाकी उपाध्यक्ष पबित्रा रेग्मीले गरेकी थिइन् ।
गिता राईले सञ्चालन गरेको कार्यक्रममा सहभागीलाई जानुका दाहालले स्वागत गरेकी थिइन् ।

उद्घाटनसत्रमा वडाका सबै जनप्रतिनिधिले तालिम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।