काठमाडौं ।  नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट भूउपग्रह ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीको सहयोगमा प्रक्षेपण गरिने भएको हो ।

जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ । नानो स्याटेलाइट लन्चिङ सफलताको दर ९० प्रतिशत तथा ‘अर्बिटल स्लट’मा तैनाथ हुने दर शतप्रतिशत रहेको नास्टको प्राविधिक संकायका प्रमुख इन्जिनियर डा रवीन्द्रप्रसाद ढकालले बताए ।

सोहीअनुसार स्याटेलाइटको सफल प्रक्षेपण हुनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ । यो स्याटेलाइट लोअर बिटमा रहने पृथ्वीबाट करिब चार सय किलोमिटरको दूरीमा रहनेछ ।

१० सेन्टिमिटर आकारको स्याटेलाइटको तौल १३ सय ग्राम छ । नानो स्याटेलाइटको उपयोगका लागि नास्टमा ग्राउन्ड स्टेसन बनाउन भने बाँकी छ । अबको केही दिनमै ग्राउन्ड स्टेसन तयार हुने नास्टले जनाएको छ ।

स्याटेलाइट प्रक्षेपण भएमा नेपालको समेत आफ्नै स्याटेलाइट हुनेछ । यसबाट नेपाली इन्जिनियरसमेत त्यसका लागि सक्षम रहेको सन्देश विश्वमा फैलने ढकालको भनाइ छ ।

जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त राष्ट्रसंघको सहकार्यमा ६ वर्षदेखि बर्डस् कार्यक्रमअन्तर्गत आफ्नै भूउपग्रह नहुने मुलुकको क्षमता विकास गर्न सघाइरहेको छ । सोही कार्यक्रमअन्तर्गत नेपाली वैज्ञानिक आवास मास्के र हरिराम श्रेष्ठले जापानमा बसेर नानो स्याटेलाइट बनाएका हुन् ।

स्याटेलाइट निर्माणमा श्रेष्ठ र मास्केसँगै अन्य आठजना इन्जिनियर तथा वैज्ञानिकले समेत सघाएका थिए । नास्टले नानो स्याटेलाइट प्रक्षेपणका लागि नेपाल सरकारबाट एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग लिएको छ ।