झापा । पुरानो साप्ताहिक हाट साविककै स्थानमा लगाइनुपर्ने माग राख्दै शनिश्चरेका स्थानीय व्यापारीले शुक्रबार र  शनिबार शनिश्चरे बन्दको घोषणा गरेका छन् ।

अर्जुनधारा नगरपालिकाले ‘नगर गौरवको योजना’ भन्दै साप्ताहिक हाटलाई सातपत्रेमा स्थानान्तरण गरेपछि स्थानीय व्यापारी आन्दोलित भएका हुन् । उनीहरुले स्थानीय सिद्धार्थ सोमानीको संयोजकत्वमा ९ सदस्यीय संघर्ष समिति खडा गरेर आन्दोलन सुरु गरेका हुन् ।

बिहीबार बिहान छहारी रिसोर्टमा पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरे । संयोजक सोमानीले पुरानो बजारलाई विस्थापित नगराइ स्थापित गरिनुपर्ने आन्दोलनको मुख्य उद्देश्य रहेको दाबी गरे ।

व्यापारीको हितका लागि अर्जुनधारा उद्योग वाणिज्य संघले केही नगरेपछि बाध्य भएर आफूहरु नेतृत्वमा उत्रिएको उनको भनाइ थियो । वाणिज्य संघले व्यापारीसँग समन्वय नगरी एकल निर्णय गरेको उनको आरोप छ ।

साप्ताहिक हाट शनिश्चरे चोकमै लगाइनुपर्ने माग गरेका उनले सब्जी हट्टी सार्न नहुनेमा पनि जोड दिएका थिए । बरु व्यवस्थित गरेर लैजानुपर्ने उनको धारणा थियो ।

स्थानीय व्यापारी विमल भट्टराईले नगरले गौरवको योजना अघि सारिरहँदा शनिश्चरे बजारको अस्तित्व मेटिने गरी विकास गर्न नहुने तर्क अघि सारे । ‘सडक पेटीमा बजार लाग्नुपर्छ भन्ने मान्यता हाम्रो पनि होइन’, उनले भने, ‘बजारको उचित व्यवस्था गरिनुपर्छ ।’

शनिश्चरे चोक खाली गरेर पार्क बनाउनुको कुनै औचित्य नरहेको भन्दै उनले बजारमा वरिपरि मार्केट बनाएर बीचमा पार्क बनाउन सकिने पनि विकल्प प्रस्तुत गरे ।

होटल व्यवसायी विनोद श्रेष्ठले बजार व्यवस्थापनमा स्थानीय व्यापारी, व्यवसायीसँग समन्वय नगरिएकोमा चिन्ता व्यक्त गरे । पर्यटकीय नगरी बनाउन खोज्दा व्यापारी पलायन हुने खतरा बढेको भन्दै नगरको गौरवको योजनाले शनिश्चरे बजार मृत सहरको रुपमा पुग्न लागेको उनको भनाइ थियो ।

भाँडावर्तन व्यवसायी प्रकाश श्रेष्ठले साप्ताहिक बजार सारिँदा ७० देखि ८० प्रतिशत कारोबारमा गिरावट आएको तथ्यांक प्रस्तुत गरे । सम्पूर्ण व्यापारीको आन्दोलनलाई वाणिज्यले समर्थन गर्न आग्रह गरेका उनले नगरपालिकाको पनि ध्यान जान जरुरी रहेको बताए ।

उनले स्थानीय व्यापारीको माग पूरा नभए वाणिज्य संघमा तालाबन्दी गर्ने, वडा कार्यालयमा नाराबाजी गर्दै नगरमा समेत धर्ना दिने कार्यक्रम सार्वजनिक गरे । बजार बन्दलगायतका विरोधका कार्यक्रम हचुवाको भरमा नभएर सम्पूर्ण व्यापारीको मत लिएर अघि सारिएको दाबी गरे ।

त्यस्तै, विनोद पाँचकोटीले बजार सारिँदा स्थानीय व्यापारीलाई विकल्प दिनुपर्नेमा उल्टै वाणिज्य र बजार व्यवस्थापन समितिबाट धाकधम्की दिइएको गुनासो गरे । वाणिज्यले प्रहरी लगाएर उठिबास बनाउने अनि १० हजार जरिवाना तिराउने धम्की आपत्तिजनक भएको भन्दै निन्दा गरे ।

कार्यक्रममा बोल्दै गौरीशंकर श्रेष्ठ, विनोद थापा, पशुपति भट्टराई, लवकुश गिरी, प्रकाश बुढाथोकी, पुष्प रेग्मी लगायतले सब्जी हट्टी सारिनु नहुने भन्दै साप्ताहिक हाट साविककै स्थानमा राख्न माग गरे ।