काँकडभिटा । मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करणमा शनिबार आयोजक काँकडभिटा फुटबल ट्रेनिङ सेन्टरलाई फराकिलो अन्तरले हराउँदै संकटा क्लब काठमाण्डौ सेमीफाइनलमा प्रवेश गरेको छ ।

काँकडभिटालाई ४−१ गोलको अन्तरले हराउँदै संकटा सेमिफाइनलमा पुगेको हो । खेलको २२ औं मिनेटमा संकटाका लागि बिदेशी खेलाडी फोफोना फोडेले गोल गर्दै टीमलाई अग्रता दिलाए । २९औं मिनेटमा फोडेले नै गोल गर्दै टीमको अग्रता दोब्बर बनाए ।

खेलको ४४ औं मिनेटमा फोडेले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । क्रिश्टियनले डि बक्सभित्र गरेको पासमा फोडेले गरेको प्रहार काँकडभिटाका गोलरक्षक गिरीको हातमा लाग्दै गोल भएको थियो । ५५ औ मिनेटमा क्रिश्टियनले गोल गरेर फराकिलो अन्तर निकाले ।

काँकडभिटाका लागि खेलको ८० औं मिनेटमा बिमल घर्तीमगरले डि बक्स नजिकैबाट गरेको फ्रि किक गोलमा परिणत भएको थियो । खेल अवधिभर काँकडभिट्टाबिरुद्ध हावी भएको संकटाले बिपक्षी पोष्टमा एक दर्जनजति प्रहार गरेको थियो ।

खेलको म्यान अफ दी म्याच बिजेता टीमका लागि ह्याट्रिक गरेका फोफोना फोडे भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए । आइतबारको खेल त्रिभुवन आर्मी क्लब र धरान फुटबल क्लब सुनसरीबीच हुनेछ । प्रतियोगितामा बिजेता टीमले १० लाख १ हजार र उपबिजेता टीमले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।