विराटनगर । प्रदेशको र स्थायी राजधानी तोक्न नसकेको प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मालिा तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । धनकुटा यसअघि पूर्वन्चाल विकास क्षेत्रको राजधानी थियो ।

प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न नेकपा संसदीय दलको बैठक बुधबार बोलाइएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धुव्र सुवेदीले बताए ।

मन्त्रिपरिषद् बैठकले धनकुटा, भोजपुर र संखुवासभा हेर्ने गरी धनकुटामा यातायात सेवा कार्यालय स्थापना गर्ने पनि निर्माण गरेको छ ।

रेवातीरमण भण्डारीको संयोजकत्वमा रहेको कानुन मस्यौदा निर्माण समितिको म्याद असारसम्म थप गरेको मन्त्री कार्कीले जानकारी दिए ।

बैठकले केन्द्र सरकारबाट पदस्थापन भएका आएका कमचारीहरु मध्ये आठौंसम्मका कर्मचारीलाई सम्बन्धित मन्त्रालयमा पठाउने र मन्त्रालयले व्यवस्थापना गर्ने निर्णय गरेको छ । बाँकी कर्मचारीको हकमा मुख्यमन्त्रीको कार्यालयले व्यवस्थापन गर्ने गरी कर्मचारी पदस्थापन तथा सरुवासम्बन्धी कार्यविधिलाई स्वीकृत गरेको छ ।

यस्तै योजना आयोगको गठन आदेशलाई संशोधन गरी मुख्य न्यायधिवक्ता, प्रमुख सचिव र सबै मन्त्रालयका सचिव रहने बनाइएको छ भने प्रदेशमा जाँचबुझ आयोग गठनका लागि कानुन बनाउन कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।